भारतमा सङ्क्रमित हुने करिब ८२ हजार : दुई हजार छ सयको मृत्यु

भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने करिब ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ७२२ नयाँ सङ्क्रमित थपिएका छन् । १३४ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार बिहानसम्म भारतमा ८१ हजार ९७० जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको हो । कोभिड–१९ को सङक्रमणबाट मृत्यु हुने दुई हजार ६४९ रहेको छ । भारतमा २७ हजार ९२० जना सङ्क्रमित उपचारपछि निको भएका छन् । भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार ५१ हजार ४०१ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

कोभिड–१९ को सबैभन्दा बढी सङ्क्रमित आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र राज्य हो । कुल सङ्क्रमितको एक तिहाई महाराष्ट्रमै छन् । सबैभन्दा बढी मृत्यु भएको पनि महाराष्ट्रमा नै हो । महाराष्ट्रमा कोभिड–१९ बाट मृत्यु हुने एक हजार १९ पुगेको छ ।

महाराष्ट्रपछि तामिलनाडू, गुजरात र राजधानी नयाँ दिल्ली सबैभन्दा बढी प्रभाबित छन् । तामिलनाडूमा नौ हजार ६७४, गुजरातमा नौ हजार ५९१ र नयाँ दिल्लीमा आठ हजार ४७० सङ्क्रमित छन् । राजस्थानमा चार हजार ५३४, मध्यप्रदेशमा चार हजार ४२६, उत्तरप्रदेशमा तीन हजार ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

नेपालसँग सीमा जोडिएको बिहारमा ९९४ र पश्चिम बङ्गालमा दुई हजार तीनसय सङ्क्रमित छन् । एएनआई


ताजा खबर