नेकपा सचिवलय बैठक बालुवाटारमा सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पाँच बजेदेखि बस्ने भनिएको बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो ।

आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने अपेक्षा गरिएको छ । यद्यपि, बैठक बस्नु भन्दा पहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले बालुवाटारमा सांसदहरू बोलाएर हस्ताक्षर संकलन चलाएको थियो । त्यस अघि हस्ताक्षर संकलन गरेका पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले भने स्थगित गरेका थिए ।

सचिवालय सुरु हुनु भन्दा पहिले हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री ओलीले स्थायी समिति भन्दा संसदीय दलको बैठक बोलाउने छाँट देखाएका छन् ।

बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमा सबै सदस्य उपस्थित भएका छन् । दिनभर बालुवाटारमा सांसदहरू बोलाएर हस्ताक्षर चलाइए पनि साँझपख बैठकको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरूलाई भने बालुवाटारभित्र अहिलेसम्म प्रवेश दिइएको छैन ।

विभिन्न सञ्चारगृहबाट सूचना संकलनका लागि पुगेका सञ्चारकर्मीहरू बालुवाटार प्रधानमन्त्री कार्यालय बाहिरको सडकमै पर्खिरहेका छन् ।


ताजा खबर