सरकारले अध्यादेश फिर्ता लिएर गल्ती सच्यायोः प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिएर आफ्नो गल्ती सच्याएको बताएका छन् । मन्त्रिपरिषदबाट दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि प्रवक्ता शर्माले ट्वीट गर्दै गल्ती सच्याएको प्रतिक्रिया दिएका हुन् ।

उनले अध्यादेश फिर्ता लिए पछि अब सरकारले सांसद उठाउने कार्यमा संलग्नलाई कार्बाहीको माग गरेका छन् । “अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्बाहीको प्रतीक्षामा छौं”, उनले लेखेका छन् ।

सँगै, प्रवक्ता शर्माले अव सरकारको ध्यान महामारी रोकथाममा केन्द्रीत हुनुपर्ने पनि सुझाव दिएका छन् । उनले लेखेका छन्, “पहिले नागरिकको जीवन जोगाऔं, फुसर्दमा राजनैतिक विवाद गरौंला ।”

गएको चैत ८ मा ल्याएको राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश शुक्रबार बसेको मन्त्रिपरिषदबाट फिर्ता गर्ने निर्णय भएको छ ।


ताजा खबर