सडकमा पिपिई : सिए दिपेन्द्र पोख्रेल

कोभिड १९ को बिश्वब्यापी प्रकोप संगै नेपालमा पनि संक्रमणको सम्भावनाले अस्पताल हरुमा संक्रमण सुरक्षा जोखिम ह्वात्तै बढेको छ । हालको केस संख्या सम्म हेर्दा कोभिड १९ पोजिटिभ भएका बिरामीहरुको उपचारका लागि तोकिएका अस्पतालहरु रहेपनि संकास्पद बिरामीको ल्याब परिक्षण रिपोर्ट नआउदा सम्म सुरक्षित स्वास्थ्य उपचारको ब्यबस्थापन चुनौती त निजि अस्पताललाइपनि छँदैछ, अनि पोजेटिभ केसको संख्या बढेर गएमा  उपचारको संबेदनशिलता तथा चुनौतीका लागि तयार रहनुपर्ने अवस्था छ ।

स्वास्थ्यकर्मीलाइ उपचारका बखत आबस्यक सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराउनु झनै ठुलो समस्या बनेको छ । संक्रमणको बिश्वब्यापि अवस्था तथा लकडाउनका कारण अन्य देशबाट सुरक्षा सामग्रि आयात पनि कठिन छ। निजि अस्पताल हरुको लागि हाल सो सामग्रीहरु आयात गर्न पनि सम्भब रहेको छैन ।

सरकारद्वारा पहल गरिएको खरिद प्रक्रिया समेत बिबादित बनि अन्योलमा नै छ। यस्तो अबस्थामा स्वास्थ्य मन्त्रालयमा उपलब्ध सुरक्षा सामग्रिको पहुच पनि तोकिएका अस्पताल तथा हब अस्पताल सम्म मात्र मुस्किलले पुग्न सकेको छ भने अर्को तर्फ अनिबार्य रुपमा उपचार गर्न र बिरामी नफर्काउन स्वास्थ्य मन्त्रालयको निर्देशन, प्रेसको खबरदारी मात्र हैन सर्बोच्च अदालतको आदेश समेत आइसकेको छ ।

निर्देशन तथा आदेशका कारण मात्र हैन बिरामी उपचारमा निजि अस्पतालको आफ्नै कर्तब्य र दायित्व पनि छँदैछ । त्यसैले निजि अस्पतालहरुले बिरामीको उपचारको प्रवन्ध संगसँगै आफ्ना स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा गर्नुपर्ने अनिवार्यता छ । पीपीइ को प्रयोग सम्बन्धमा बिश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य मन्त्रालयको समेत प्रोटोकल छ भने तिनै प्रोटोकलमा आधारित रहेर निजि अस्पतालहरुले आफ्ना प्रोटोकलहरु बनायका छन् । यति हुँदाहुदै पनि प्रोटोकलको कार्वान्यन भने झनै पेचिलो छ ।

हालको बिश्वब्यपी सन्त्रास को कारण उत्पन्न भयको सजगताका कारण अस्पतालमा सम्भावित कोभिड १९ को उपचार गर्ने स्वास्थ्य कर्मी बाहेक अन्य स्वास्थ्य कर्मी , अन्य प्रशासनिक, सहयोगी बिभागमा कार्यरत कर्मचारीहरु को सुरक्षा सामग्री को माग ले गर्दा समेत पीपीइ को प्रयोग लाई प्रोटोकल संग तादाम्यता मिलाउन पनि कठिन छ । जोखिम बढिरहेका बेला बिरामी संग प्रत्यक्ष उपचार मा संलग्न हुनु पर्ने र अन्य अस्पताल कर्मी ले प्रयोग गर्नु पर्ने सुरक्षा सामग्री हरु फरक फरक तहका हुने तथा सोहि अनुसार प्रयोगको व्यवस्थाका लागि आफ्नै सम्पूर्ण अस्पताल कर्मी लाई सुसुचित गर्नु पर्ने आबस्यकता समेत यही संकट को समयमा थपिएको छ ।

पिपीइ प्रयोगको नियम लाई राम्ररी लागु गर्न सके पिपीइको समुचित प्रयोगको कारण पिपीइ को खपतको आबस्यकता तथा ब्यबस्थापनमा केहि सहयोग त पुग्न जानेछ तर उचित आबस्यकता अनुसारका सामग्रीको जोहो गर्न समेत कम कठिन चाही छैन । लकडाउनका कारण आयात ठप्प छ भने बजारमा उपलब्ध मौज्दात पनि केहि खपत भैसकेका छन् भने सजिलै प्राप्त गर्न सक्ने अबस्था पनि छैन। यसैबिच निजि अस्पतालहरुले गार्मेन्ट तथा स्थानीय टेलर को सहयोगमा पीपीइ गाउन तयार पार्न थालेका छन्। स्थानीय स्तरमा आफ्नै जुक्ति लगाएर तयार पारिएका सामग्रीहरुको सुरक्षा क्षमता चाही कति छ त्यो आफैमा अर्को अध्ययन को बिषय बनेको छ भने एन ९५ मास्क जस्ता आबस्यक सुरक्षा सामग्री चाही उपलब्ध नै छैनन् भने सर्जिकल मास्कको समेत अभाव रहेको छ।

यसै क्रममा केहि सामाजिक संस्थाहरुले आबस्यक पिपीइ वितरण गर्न लागेको खबरपनि आए तर उनिहरुको प्राथमिकतामा सरकारी वा सामुदायिक स्वास्थ्य संस्थाहरु परे, अझ केहि संस्थाले अस्पताल बाहेक अन्य निकाय हरुलाई समेत पीपीइ वितरण गरेको स्थिति रह्यो। नतिजा स्वरुप फोहोर उठाउने श्रमिक, समान डेलिभरि गर्ने कर्मचारी समेतले पूर्ण पिपीइ लगाएको स्थीति देखिन पुग्यो। यसरी न त बजारमा किन्न पाउने, न त सरकारी वितरणमा सामबेश हुनु नत सामाजिक संस्थाले वितरण गर्ने सहयोगको प्राथमिकतामा पर्नु अनि सडकमा पीपीइ लगाएका गैर स्वास्थ्यकर्मी देखिनु, सामाजिक संजाल मा गैह्र स्वस्थ्य संस्थाहरुलाई पिपिइ सहयोग गरेका तस्बिरहरु देखिनु अनि लकडाउनको समयमा एन ९५ मास्क लगाएर मोटरसाईकल चलाएको र मानिसहरु बाटो बाटोमा बरालिएको देख्दा डाक्टर तथा नर्सहरु भयभित छन्।

आज सम्म त जसो तसो चलिरहेको छ । भोलि साच्चै संक्रमण फैलियो भने सुरक्षा सामग्री कहाँ पाउने अनि अभाबमा आफ्नो ज्यानको बाजि लगाएर  उपचारमा लाग्नेकी आफुले गर्दा संक्रमण फैलिन सक्ने सम्भावना लाई मध्येनजर गर्दै सुरक्षित बस्ने । दुवै विकल्प डरलाग्दा छन् । यो भयाबह स्थिति आउन नदिनको को लागि स्वास्थ्यकर्मीलाई सुरक्षा उपकरणले सुसज्जित गरौँ, प्रोत्साहन गरौ, हौसला बढाउँ , निजि र सरकारी भनेर नछुट्टाउ। बिरामीको संख्या बढेमा कुनै निजि हुनेछैन कुनै सरकारी हुनेछैन सम्पूर्ण नेपालीजनको लडाई हुने छ अनि संगै डटेर लड्नु पर्नेछ । अनि त्यसको लागि स्वार्थी नबनी अहिले बाट नै तयारी गर्नु पर्ने छ।

पोख्रेल काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रशासन तथा बित्त निर्देशक हुन् ।

ताजा खबर