टेलिभिजन पर्सनालिटी भूषण दाहालले सोह्र वर्षपछि किन छाडे कान्तिपुर टेलिभिजन ?

निजी क्षेत्रको चर्चित सञ्चारमाध्यम कान्तिपुर टलिभिजनका सहायक महाप्रबन्धक भूषण दाहालले झन्डै डेढ दशकको सम्बद्धता तोड्दै सो टेलिभिजनबाट बाहिएिका छन् । उनले २०७६ पुस २४ गते राजीनामा दिएर बाहिरिएको त्यहाँ  कार्यरत पत्रकारहरूले बताएका छन् । करार सेवामा कार्यरत उनले बिदा हुँदा भने रित्तो हात छोड्नुपरेको बताइन्छ ।

त्यसो त उनी व्यवस्थापनको व्यवहारबाट वाक्कदिक्क भएर छोड्ने मनस्थिति बनाएर सन् २०१२ मा ‘कागबेनी’ डकुमेन्ट्री बनाउनका लागि हिंडेका थिए । लामो समय ‘कागबेनी’ डकुमेन्ट्रीमा बिताएर जिम्मेवारीप्रति बेवास्ता गरेपछि दाहाललाई त्यतिखेरै व्यवस्थापनले टेलिभिजनबाट निस्कासन गर्नेसम्मको तयारी गरेको थियो ।

त्यतिबेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले कान्तिपुर टेलिभिजनको कमान्ड सम्हालेका थिए । तत्पश्चात् सम्भवले सो जिम्मेवारी छोडेसंगै टेलिभिजनको सबै जिम्मेवारी र नेतृत्व दाहालले नै सम्हाल्दै आएका थिए । कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारण हुने ‘फायर साइड’का प्रस्तोतासमेत थिए, दाहाल ।

कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर पब्लिकेसन्सको आगामी फाल्गुन ७ गते वार्षिकोत्सवको महत्वपूर्ण घडीको पूर्वसन्ध्यामा दाहाल काम गर्ने वातावरण नभएको भन्दै वाक्कदिक्क मान्दै विगत १६ वर्षदेखिको संलग्नताबाट मुक्त हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसका साथै लामो समयदेखि टेलिभिजनको मार्केटिङ हेरिरहेकी चारू श्रेष्ठले समेत राजीनामा दिएकी छन् ।

यसरी एकपछि अर्को गर्दै राजीनामा आउने क्रम बढेपछि कान्तिपुरमा परकम्प आएको छ । यता श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक समेत कान्तिपुर मिडिया ग्रुपले उपलब्ध नगराएकाले सूचना विभागले प्रदान गर्ने रातो कार्डसमेत कान्तिपुरकर्मीले लिन पाएका छैनन् ।

त्यसैले उनीहरू समाचार संकलन तथा प्रसारणका लागि सिंहदरबारमा प्रवेश गर्न पाउँदैनन् । हाल कान्तिपुर टेलिभिजनले सञ्चारकर्मी  सविन  धमलाको न्यूज एजेन्सी नेपाल  NAN नामका संस्थाबाट ‘भिज्युअल’ किनेर काम लिइरहेको छ । त्यसो त नेपाल सरकार र नेपाल पत्रकार पत्रकार महासंघले पत्रकारहरूको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन दिएको निर्देशनलाई कान्तिपुर व्यवस्थापनले अवज्ञा गर्दै आएको छ ।

उता कान्तिपुर पब्लिकेसन्सको आगामी फाल्गुन ७ गते हुने वार्षिकोत्सव नजिकिंदै जाँदा आर्थिक अवस्था भने दिनानुदिन खस्किंदै गएको स्रोतले बताएको छ । आ.व. २०७५/०७६ को भन्दा आ.व. २०७६/०७७ को प्रथम चौमासिक (साउन–कात्तिक) मा पब्लिकेसन्स ४२ करोड रुपैयाँ  घाटामा गएको बताइन्छ । यही गतिमा घाटा हुँदै जाने हो भने चालू आर्थिक वर्षको अन्त्यसम्म झन्डै १ अर्ब २५ करोड रुपैयाँ  नोक्सान हुने देखिन्छ । त्यसको मारमा त्यहाँ कार्यरत सम्पादकदेखि श्रमजीवी पत्रकारहरूमा पर्ने निश्चित छ ।

 


ताजा खबर