कोरियाली हुन्डाई कार बनाउने उद्योग नेपालमै सञ्चालनमा

कोरियाली कार निर्माता कम्पनी हुन्डाईको चारपांग्रे गाडी बनाउने उद्योग नेपालमै सञ्चालनमा आएको छ । हुन्डाई कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले शुक्रबारदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।

पश्चिम नवलपरासीको रामग्रामस्थित प्लान्टबाट वार्षिक आठ हजारवटा गाडी एसेम्बल गर्ने योजना छ । तर, तत्कालका लागि ४५ सय वटा उत्पादन हुनेछ । करिब १० बिघामा प्लान्ट निर्माण गरेको यो उद्योगमा दुई सय जनाले रोजगारी पाउनेछन् । पहिलो चरणमा हुन्डाईको भेन्यु गाडी बनेको छ । त्यसपछि अरू पनि बन्ने उद्योगले जनाएको छ ।

प्लान्टको आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

सरकारले कार एसेम्बल गर्ने उद्योगलाई करमा सहुलियत प्रदान गर्दै आएको छ । भन्सारमा २५ र अन्तःशुल्कमा ५० प्रतिशतसँगै आयकरमा पनि छुट छ। यो प्लान्ट सञ्चालनमा आएपछि नेपाली उपभोक्ताले हुन्डाईका उत्पादन सहज र सहुलियत दरमा उपलब्ध हुने, आन्तरिक स्रोत बढ्ने र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको छ ।

एक दशकअघि नै हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडी उत्पादन गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेपछि यो थप चर्चामा आएको थियो । तर प्राविधिक पक्ष कमजोर हुँदा प्लान्ट बन्द हुन पुगेको थियो ।

अहिले चारपांग्रे गाडी एसेम्बल गर्ने लक्ष्मी मोटर कर्पोरेसन मात्रै हो । बजाज, टीभीएस, सुजुकी, यामाहा लगायतले भने दुईपांग्रे एसेम्बल गर्दै आएका छन् ।

 


ताजा खबर