जावेद असरफ : नेपालका लागि नयाँ भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी सन् २०१९ को डिसेम्बर ३१ तारिखबाट सेवाबाट अवकाश हुँदैछन् । राजदूत पुरीको विदाई भोज(फेयरवेल) २०७६ पुस १ गते (डिसेम्बर १७, २०१९) १५ दिनअगावै आयोजना गरिएको छ । भारतीय राजदूतावासभित्रको ‘इण्डिया हाउस’ मा आयोजना हुने सो बिदाइ दिवाभोज कार्यक्रमका लागि काठमाडौंस्थित राजनीतिक तथा कूटनीतिक व्यक्तिहरूसहित विभिन्न पेसा व्यवसाय सम्बद्ध करिब हजार-बाह्रसय जना प्रबुद्ध व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत पुरीको अवकाशसँगै रिक्त रहने राजदूत पदमा हाल सिंगापुरका लागि भारतीय उच्च आयुक्तमा कार्यरत जावेद असरफको नियुक्ति हुन सक्ने सम्भावना रहेको नयाँदिल्ली र काठमाडौंस्थित राजनीतिक र कूटनीतिक वृत्तमा चर्चा रहेको स्रोतको भनाइ छ । कूटनीतिज्ञ जावेद नेपालसम्बन्धी मामिलाका जानकार रहेको बताइन्छ । त्यसो उनले सन् २००७ बाट तीन वर्ष काठमाडौंस्थित भारतीय राजदूतावासमा काम गरिसकेको अनुभवसमेत छ । उनी भारतीय विदेश मन्त्रालयको संयुक्त राज्य अमेरिका महाशाखाका साथै अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा समेत काम गरिसकेका कूटनीतिज्ञ हुन् ।

Image result for जावेद असरफ

नेपालका लागि राजदूतमा चर्चामा रहेका जावेदले नयाँदिल्लीस्थित St. Stephens कलेजबाट अर्थशास्त्रमा र अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट अर्थशास्त्रमा स्नातकोत्तरको शैक्षिक उपाधि हासिल गरेका छन् । उनले हालसालै फोटोग्राफीसम्बन्धी कफी टेबलको ‘…A Day in the Life of Kathmandu ’ नामक पुस्तकसमेत प्रकाशित गरेका छन्, जुन २०७२ वैशाखको भूकम्पपीडितहरूप्रति समर्पित छ । उनी टेनिस र हिमालको पदयात्रासहित बाह्य यात्रामा रुचि राख्छन् ।

पाकिस्तानका लागि भारतीय राजदूतका रूपमा हाल नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा कार्यरत गोपाल वाग्लेको नियुक्ति हुन सक्ने नयाँदिल्दीस्थित कूटनीतिक वृत्तमा चर्चा रहेको छ । पाकिस्तानमा डिपुटी मिसन कमिस्नर भएर काम गरिसकेका वाग्ले पाकिस्तानस्थित कूटनीतिक तथा कर्मचारी वृत्तमा राम्रो सम्बन्ध स्थापित गर्ने कूटनीतिज्ञका रूपमा समेत परिचय बनाइसकेका छन् । वाग्लेले काठमाडौंस्थित भारतीय राजदूतावासमा समेत काम गरिसकेका छन् ।

सफल नेपाल

 

 


ताजा खबर