कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते

कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बुधबार बस्ने भएको छ । बैंकको फागुन ७ गते बसेको संचालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि बस्ने गरी सभा बोलाएको हो ।

बैंकले सभामा लाभांशसम्बन्धी कुनै एजेण्डा समावेश गरेको छैन् । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संसोधन गर्नुपर्ने भएमा वा नियमनकारी निकायबाट संसोधन गनुपर्ने निर्देशन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार नेप्सेमा फागुन १६ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् । सफल नेपाल


ताजा खबर