काठमाडौंमा मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरेका छन्।

‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ। वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिम समेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धा छन्। यसले नेपालीको औसत आयु ४.१ प्रतिशतले घटाएको तथ्यांक छ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन्। गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिंडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।

गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको पनि मन्त्रालयले जनाएको छ। –रासस
h


ताजा खबर