संघीय संसद्को बजेट अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बजेट अधिवेशन आह्वान गरेको हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

गत अधिवेशनमै सरकारले प्रि-बजेट सम्बन्धी प्रस्ताव संसद्‌मा प्रस्तुत गरेको थियो। त्यसमाथि छलफल चलिरहेकै वेला गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले विरोध जनाएका थिए।

विपक्षीको विरोध छल्न सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो। जसले गर्दा प्रि-बजेटबारे पर्याप्त छलफल हुन सकेको थिएन।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम आउने गरेको छ। रासस


ताजा खबर