महिला शसक्तिकरणको फरक कथा बस्तु चलचित्र ‘राधा’

“लोग्ने बाहिर हुनु र बाहिर भएको लोग्नेको अत्तोपत्तो नहुनुमा धेरै फरक हुन्छ मसिने दाई “

चर्चित चलचित्र निर्देशक सुवर्ण थापा निर्देशित नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन सम्पन्न भएको छ।

परम्परमगत शैली भन्दा फरक कथा बस्तुमा आधारित चलचित्र ‘राधा’ महिला शसक्तिकरणको ज्वलन्त उदाहरणका रुपमा निर्माण गरिएको छ । चलचित्रको निर्देशनमा फरक सोच राख्ने निर्देशक थापाले चलचित्र हेर्न लायक बनाउनुभएको छ । रोजगारीकालागि विदेशिनुपर्ने बाध्यता र परिवारले पाउने दुःख जस्तो संवेदनशील विषयमा बनेको राधा अहिलेका फर्मुला फिल्महरुको भिड बाट विल्कुल अलग छ ।

निर्देशक थापाले एउटी गाउँले नारीको निष्ठा र प्रेमलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्नुभएको छ । मुख्य पात्रका रुपमा नायिका श्रृष्टि श्रेष्ठले पनि अत्यन्त सरल र उत्कृष्ट रूपमा आफूलाई चरित्रमा स्थापित गरी फिल्मलाई न्याय गर्नुभएको छ ।

निर्देशक थापाले नेपाली युवाहरुको वैदेशिक रोजगारीको बाध्यात्मक स्थिति र अचानक सम्पर्क विहिन हुँदा परिवारको मनोदशा र परिस्थितिजन्य सामाजिक विषयलाई मिठोसँग चित्रित गर्नुभएको छ । नेपाली समाजमा रहेका समस्याहरुलाई टपक्क टिपेर बेरोजगारी, गरिबी र व्यवहारले थिचिएपछि एक्लै महिलाले गर्नुपर्ने संघर्ष उहाँले सुन्दर ढङ्गवाट देखाउनुभएको छ ।

सफल नेपालसँगको संक्षिप्त कुराकानीमा निर्देशक थापाले राधा परम्परागत कथानक नेपाली चलचित्र भएको र यसले राधालाई नेपाली समाजको प्रतिनिधि पात्रका रुपमा प्रस्तुत गरेको र नेपाली परिवेशमा गर्भवती महिलाले परदेशिएका अनि वेपत्ता भएका श्रीमानको पर्खाइमा गरेको संघर्षलाई उतारिएको बताउनुभयो ।

राधाले नेपाल-अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर कथानक चलचित्र  अवार्ड र फ्रान्सको कान्समा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ, उत्कृष्ट निर्देशकको अवार्ड जितेको समेत जानकारी गराउनुभयो ।

काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ। फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा हुनुहुन्छ ।

बिक्रम डि जोशी मुख्य निर्माता रहेको यो फिल्ममा निर्देशक सुवर्ण थापा र अभिनेता सौगात मल्लले पनि लगानी गर्नुभएको छ । यो फिल्म मार्फत सौगातले भने निर्माताको रुपमा डेब्यू गर्नुभएको हो । नरेन्द्र मैनालीले छायांकन गर्नुभएको फिल्मलाई निमेश श्रेष्ठ र बिपिन मल्लले सम्पादन गर्नुभएको हो।

मंगलबार साँझ चावहिलस्थित गोपिकृष्ण मुभिजको राधा हलमा‍‍‍‍‍‍‍‍‍ देखाइएको विशेष शो मा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक तथा मिडिया पर्सनालिटी वरिष्ठ पत्रकार दिलभुषण पाठक, ॐ हस्पिटलका वरिष्ठ छाती, स्वास-प्रस्वास सघन उपचार तथा निन्द्रा रोग विशेषज्ञ प्रा.डा.सुवोध सागर ढकाल, वरिष्ठ सघन उपचार विशेषज्ञ प्रमेश सुन्दर श्रेष्ठसँगै ॐ हस्पिटलमा कार्यरत चिकित्सक र कर्मचारीहरु, सिने पत्रकारहरु तथा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सफल नेपाल, काठमाडौं 


ताजा खबर