स्वास्थ्य सुधारका लागि १३ अर्ब ऋण : ५१ करोड अनुदान

बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करीब १३ अर्ब ३० करोड रुपैयाँ) ऋण दिने भएको छ।

त्यसैगरी, ब्यांकले नेपालका लागि ३८ लाख ४० हजार अमेरिकी डलर (करीब ५१ करोड रुपैयाँ) अनुदान पनि दिने भएको छ। यस सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ।

नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व ब्यांक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट यो ऋण र अनुदान आउन लागेको हो। स्वास्थ्य आपत्‌कालीन पूर्व तयारी तथा प्रतिकार्य कोषका लागि अनुदानको रकम खर्च हुनेछ। विश्व ब्यांकसँग यस सम्बन्धमा विद्युतीय रूपमा हस्ताक्षर गरिएको छ।

स्वास्थ्य प्रणाली सुधारका लागि विश्व ब्यांकको १३ अर्ब ऋण, ५१ करोड अनुदान

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौताहरूमा अर्थसचिव कृष्णहरि पुष्कर र विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले हस्ताक्षर गरेका छन्। यी सम्झौता अर्थमन्त्री प्रकाशशरण महत, विश्व ब्यांककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिणएशियाका लागि विश्व ब्यांकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्‌कालीन पूर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिने विश्व ब्यांकले जनाएको छ। रासस


ताजा खबर