तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने

विभिन्न तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने भएको छ । वि.सं. २०८१ को मधुपर्क सम्मान (गद्य) मधुपर्क सम्मान (पद्य) र मधुपर्क सम्मान (प्रतिभा) अर्पण हुन लागेको हो ।

वरिष्ठ समालोचक प्रा. कृष्ण गौतम (धादिङ) लाई गद्य, वरिष्ठ कवि मञ्जु काँचुली (काठमाडौँ) लाई पद्य र कथाकार किशोर पहाडीलाई (प्रतिभा) सम्मान अर्पण गरिने भएको हो।

गोरखापत्र राष्ट्रिय दैनिकको भगिनी प्रकाशन मधुपर्कद्वारा २०५९ सालबाट अर्पण गरिँदै आएको सम्मान यस वर्ष वरिष्ठ साहित्यका पुष्कर लोहनीको संयोजकत्वमा गठित तीन सदस्यीय ‘मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान चयन उपसमिति’ को निर्णय अनुसार उहाँहरूलाई अर्पण गरिने भएको हो । उपसमितिमा साहित्यकार मोमिला जोशी सदस्य र मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्ले सदस्य सचिव रहनुभएको थियो।

सम्मान मधुपर्कको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विशेष समारोह, २०८१ जेठ ३० गते अर्पण गरिनेछ । जनही ५० हजार रुपियाँ , सम्मान पत्र र दोसल्लासहित सम्मान अर्पण गरिने छ ।

वि.सं. २००५ सालमा धादिङको बैरेनीमा जन्मनु भएका प्रा. गौतमले मूलतः समालोचनामा विशिष्ट योगदान दिनुभएको छ । पूर्वीय र पाश्चात्य महाकाव्यको तुलनात्मक अध्ययन गर्नुभएका प्रा.गौतमको पहिलो समालोचकीय रचना २०२७ मा गोरखापत्रमा प्रकाशित भएको थियो ।

गौतमका देवकोटाका प्रबन्ध काव्य, २०३८ (समालोचना), स्वर्ग विम्ब, २०४८ (उपन्यास) नाच (२०५०), कथा सङ्ग्रह, आधुनिक आलोचना (२०५०) पाश्चात्य महाकाव्य,२०५० (समालोचना) रचना रोमान्स (२०५६) जस्ता कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख, रचना प्रकाशन गर्नुभएका गौतम त्रिभुवन विश्वविद्यालयको प्राध्यापक, साझा प्रकाशनमा सञ्चालक तथा विभिन्न सङ्घसंस्थामा आबद्ध भई सक्रिय रहँदै आउनुभएको छ ।

वरिष्ठ सर्जक प्रा. गौतम हाल पनि सक्रियरुपमा साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।

मञ्जु काँचुली नेपाली कविता फाँटको विशिष्ट नाम हो । २००४ माघ ६ गते काठमाडौँमा जन्मनुभएकी काँचुलीका किरणका छाल कविता सङ्ग्रह (२०३२), मेरो जीवन मेरो जगत् कविता सङ्ग्रह (२०५३), पलकभित्र पलकबाहिर कविता सङ्ग्रह (२०५७) अन्त्यप्रतीत कविता सङ्ग्रह (२०६१) र अङ्ग्रेजी भाषाको टु सिस्टर्स कविता सङ्ग्रह (२०५४) लगायत उपन्यास, कथा, निबन्ध प्रकाशित छन् । वरिष्ठ कवि काँचुली हाल पनि सक्रियरुपमा साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।

दक्षिणकाली नगरपालिका नं.६ कोटाल टोल (तत्कालीन फर्किङ गाउँ पञ्चायत) मा २०१३ मङ्सिर २४ गते जन्मनु भएका किशोर पहाडी चर्चित कथाकार, कवि नाटककार र कलाकारका रूपमा परिचित हुनुहुन्छ ।

भानुजयन्तीका दिन २०२९ असारमा आफू अध्ययनरत त्रिभुवन आदर्श माध्यमिक विद्यालय फर्पिङमा ‘नव भानु तिमी नेपाली नव नभका’ कविता सुनाएर र वि.सं.२०२८ सालमा नयाँ सन्देश पत्रिकामा ‘म के जवाफ दिऊँ’ कथा प्रकाशन गरी औपचारिक लेखनमा सक्रिय रहनुभएका सर्जक पहाडीका कथा, कविता, बालकथाका सङ्ग्रह र फुटकर रूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् ।

पहाडीका बाच्नु र बाँचेका (कथासङ्ग्रह २०३७), घर खण्डहर (कथासङ्ग्रह, २०३७) कथा–कोण (संयुक्त कथासङ्ग्रह २०४३) विशु दाइ (कथासङ्ग्रह, २०४५), सहरमा बत्ती निभेको बेला (कविता सङ्ग्रह,२०५३) किंवदन्ती (लघुकथा सङ्ग्रह, २०५३), सर्वज्ञ र सेक्स (कथासङ्ग्रह २०५५), आआफ्नो भाग (बालकथा सङ्ग्रह २०६१) अध्याय (सम्पादित लघुकथा सङ्ग्रह, २०४७), एकैसाथ हाँसौँ (अनुदित कथासङ्ग्रह २०५५), लम्लम्ती दम (बालकथा सङ्ग्रह, २०५७) त्यो तलाको मालिक (अनुवादित कथासङ्ग्रह २०५९) हाँस र फुच्ची केटी (बालकथा सङ्ग्रह,२०६६) मुग्ध सिम्फोनी (कथा सङ्ग्रह २०७०) कथाकार मनु ब्राजाकीको अन्नपूर्णाको भोज कथासङ्ग्रह (सम्पादन २०७१), शनिवारको साथी (बालकथा सङ्ग्रह २०७३) किशोर पहाडीका रोजा कथाहरू (कथा सङ्ग्रह २०७५) कृति प्रकाशित छन् ।  रासस


ताजा खबर