सार्कका नवनियुक्त महासचिवले कार्यभार सम्हाल्नुभयो

 दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ ।

सार्क मन्त्रिपरिषद्ले उहाँको नियुक्तिलाई अनुमोदन गरेसँगै उहाँले गत मङ्गलबारदेखि कार्यभार सम्हाल्नुभएको सार्क सचिवालयले आज जनाएको छ ।

सरवर सार्कको १५ औँ महासचिव हुनुहुन्छ । उहाँ बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुनुहुन्छ । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गर्नुभएका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसक्नुभएको छ ।

उहाँले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसक्नुभएको छ ।

सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिनुभएको छ । रासस


ताजा खबर