भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिकको विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

बुधबार नवनिर्मित भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारत सरकारको सहयोगमा निर्मित विद्यालयको भवन हस्तान्तरण

उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण भएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए ।

उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको पनि बताए ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुलबस उपलब्ध गराइसकेको छ । सफल नेपाल


ताजा खबर