प्रधानमन्त्री दाहाल अमेरिकाको न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल  अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा लगायत सरकारी अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलन लगायत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नु हुनेछ । राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो अमेरिका जानुभएको थियो । रासस


ताजा खबर