राष्ट्रसङ्घको महासभाकालागि प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे काठमाडौँबाट न्यूयोर्कका लागि प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री द्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गर्नुभयो ।

 

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड आगामी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा रहँदा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पुत्री गङ्गा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनुहुन्छ । रासस


ताजा खबर