आज ११०औँ बिपी जयन्ती विविध कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ ।

विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

भारत निर्वासनमा रहँदा बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । रासस


ताजा खबर