तिमी नैतिकतामा चुक्यौ

शोभा सिलवाल /पाण्डेय
सार्वजनिक सम्पत्तिको दुरुपयोग किन  ?
ओहदामा बसेकाले पर्छ उत्तर दिन  ।
जनताको विश्वास जिती चुनावमा जित्यौ
भ्रष्टाचार गरी तिमी नैतिकतामा चुक्यौ ।
जनताले पत्याका थे देशको विकास गर्न
लागे मन्त्री सांसद जति आफ्नै भुँडी भर्न ।
राष्ट्रको सम्पत्तिमा लुछाचुँडी गरी
नेपालको ढुकुटीमा धमिरा नै सरी ।
एक पुस्ता मात्र होइन सात पुस्तालाई खाछौ
उपचार गर्न पनि विदेश तिर धाछौ ।
पद पाए डाडुपन्यु सबै यिनका हातमा
मासुभातमा बिके जनता झोलेहरू साथमा ।
ललिता निवास कति भागमा  चिराचिरा पारे  ?
टाउकेहरू मिलिजुली कसले कति खाए  ?
सङ्घीय प्रणालीका तीन तहका सरकार
रणनीति के बनायौ देश विकासको आधार ?
ललीता निवास प्रकरणमा उन्मुक्ति दिन
सुन तस्करी प्रकरणमा ढाकछोप गर्न ।
उद्योग जति बेचे देशलाई टाट पल्टाउन
सल्ला गर्दै छ रे सरकार गठबन्धन धान्न ।
गणतन्त्र आएपछि खोला किनार बेच्दा
स्थानीय निकायले कैल्यै ध्यान नदिँदा ।
जनताका लगानी त बग्यो पानीसँगै
सोझासाझा जनता बने बुङ्गाको बुङ्गै  ।
घरैभित्र परे रैछ कतिको त खोलो
व्यक्ति हो कि प्रशासन हो कति अगतिलो  ?
नर संहार गर्नेलाई चोख्याउने कानुन
कस्तो कानुन बनाका हुन् सभासद् नै जानून् ।

ताजा खबर