‘भात खानुभयो ?’

~डा. अरुणा उप्रेती
May be an image of biryani

भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल-भात दैनिकरुपमै खाइन्छ ।

कतिले दाल-भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल-भात तरकारी वैदिक कालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदाबहार परिकार हो ।

सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, तरकारी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो । दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग एवं वंशाणुगत रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।

चार जना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ । दाल भात उत्तम खाना हो ।
नेपालमा धानको भातको साथै अन्य अन्न, जस्तै– कोदो, फापर, गहुँ आदि पनि खाइन्छ । पहिले यस्तो अन्नको वास्ता गरिन्नथ्यो । बालबालिकाहरुलाई पनि जाउलो र खिचडी (अर्थात दाल र भात मिसाएर पकाएको) खुवाउने चलन समाजमा छ, जसको बिषयमा पनि एकमुस्ट रुपमा यस अनुसन्धानले विश्लेषण गरेको छ ।
दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो ।

भात खाएको छैन भन्नुको अर्थ ‘सञ्चो छैन’ भन्ने पनि बुझिन्छ । किनकि, भातजस्तो सादा वा सस्तो चिज पनि खान नसकेको वा खान नपाउनु भनेको उसको शरीरमा वा जीवनमा समस्या छ भन्ने संकेत हो ।

चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु धन बाहेक अन्य अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।
जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।
मौलिक पकाउने शैली, तरकारीको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन ।
यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।
अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ ।
गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात् वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्जनमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ ।
सदाबहार स्वास्थ्यको रहस्य सादा दाल, भात, तरकारी र अचारमा छ । विभिन्न अन्नबाट बनेका भात, रोटी र दाल गेडागुडीसँगै खाँदा रोगसँग लड्ने शक्ति बढ्छ भन्ने बुझ्नुपर्छ ।

ताजा खबर