राष्ट्रिय क्रिकेट कप्तानलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपालको क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेर टोलीलाई विश्व कपको छनोटमा पुर्‍याएको तथा १२ खेल लगातार जितेर इतिहास कायम गरेको जनाउँदै कप्तान पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो ।

युवा सङ्घ नेपालको नेपालगञ्जमा सोमबारबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेक र ट्रफी प्रदान गर्नुभएको हो ।

देशभरिमा उत्कृष्ट काम गर्ने युवालाई प्रोत्साहन गरेर अन्य युवालाई समेत राम्रो कामका लागि उत्साहित गर्ने उद्देश्यले गत वर्षबाट केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिन थालिएको युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले बताउनुभयो ।

पुरस्कार पाएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै कप्तान पौडेलले यस पुरस्कारले आफू लगायत सम्पूर्ण युवालाई देशका लागि केही गर्नुपर्छ भन्ने हौसला मिलेको बताउनुभयो । रासस


ताजा खबर