आपूर्ति बढेसँगै उपत्यकामा तरकारीको मूल्य घट्यो

निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो । शुक्रबार मतदानका दिन भएकाले तरकारी नआए पनि शनिबारदेखि तरकारी आउन थालेको कालीमाटीका थोक व्यापारीले बताएका छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले आइतबार बिहानैदेखि तरकारीको भाउ सस्तो भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शनिबार तरकारी कम आएकाले महँगो थियो तर आइतबारदेखि तरकारी आउने क्रम बढेकाले मूल्य सामान्य भइसकेको छ ।” 

उहाँका अनुसार कालीमाटी तरकारी बजारमा शनिबार रातिदेखि बजारमा पर्याप्त तरकारी भित्रिएको छ । बजारमा तरकारी छ बरु किन्ने ग्राहक नभएको व्यापारीले बताएका छन् । शनिबार थोकमै प्रतिकेजी एक सयदेखि ११० रुपियाँमा बिक्री भएको गोलभेँडा आइतबार दिउँसोदेखि ७० रुपियाँमा झरेकोे थोक व्यापारी आचार्यले बताउनुुभयो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा ४२५ मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । मतदानका दिन शुुक्रबार बजारमा तरकारी आएन भने शनिबार ३१५ मेट्रिक टन तरकारी भित्रिएको समितिले जनाएको छ । 


ताजा खबर