राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय

सरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

फिर्ता हुने राजदूतहरुमा महेन्द्रबहादुर पाण्डे (चीन),  निलाम्बर आचार्य (भारत),  लोकदर्शन रेग्मी (बेलायत), युवराज खतिवडा (अमेरिका), बंशिधर मिश्र (वंगलादेश) अञ्जान शाक्य (इजरायल), प्रतिभा राणा (जापान), उदयराज पाण्डे (मलेसिया), शर्मिला पराजुली ढकाल (ओमान), नारदनाथ भारद्वाज (कतार), निर्मलकुमार, विश्वकर्मा (दक्षिण अफ्रिका), दाबा फुटी शेर्पा (स्पेन) रहेका छन् । 

फिर्ता हुने राजदूतहरु

मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गर्नुका साथै कोभिड १९ व्यवस्थापन आदेश, २०७८ स्वीकृत गरेको जानकारी दिनुभयो । 

यसैगरी, बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साँढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी गराउनुभयो । –रासस


ताजा खबर