नेकपाकाको सचिवालय बैठक शनिबार ४ बजे बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच  शुक्रबार विहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा विहान बैठक भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दुई अध्यक्षबीच पुरानै विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

मन्त्रि परिषद पुनर्गठनका विषयमा सहमित गर्न सचिवालय बैठकले जिम्मेवारी तोके पनि दुई अध्यक्षबीच नियमितजसो छलफल भइरहेको छ । गत विहिबार, शुक्रबार, आइतबार र सोमबार नियमित छलफल भएको थियो । आजको छलफलमा केही सहमति भएको हुनसक्ने बुझाई बालुवाटार स्रोतको छ ।

आज विहान भएको छलफलमा पार्टी संगठनका बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ । दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई असोज मसान्तभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ठोस आधार तयार गर्न पार्टीले जिम्मेवारी तोकेको छ ।

आज बसेको दुई अध्यक्षबीचको बैठकले भोलि शनिबार साँझ ४ बजे सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार भोलि साँझ ४ बजे बालुवाटारमा सचिवालयको बैठक बस्नेछ । दुई अध्यक्षबीच सहमतिको मोटामोटी खाका तयार भएपछि सचिवालयको बैठक बोलाउने यसअघि सहमति बनेको थियो ।

दुई अध्यक्षबीच विहान ९ः ४० देखि शुरुभएको बैठक १०ः३० बजेसम्म बैठक बसेको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो ।


ताजा खबर