कोकाकोलाले एक महिनासम्म विश्वभरका सामाजिक मिडियामा विज्ञापन नगर्ने

विश्वकै चर्चित सफ्ट ड्रिङ्क कोकाकोलाले कम्तीमा एक महिनाका लागि विश्वभरका सामाजिक मिडियामा विज्ञापन नदिने भएको छ ।

सामाजिक मिडिया घृणाजनक अभिव्यक्ति फैलाउने माध्यम बनिरहेकाले त्यसलाई रोक्न र जिम्मेवार बन्न दवाब दिने उद्देश्यले विज्ञापन निलम्बन गरिएको जनाइएको छ । कोकाकोलाका प्रमुख कार्यकारी अधिकृत जेम्स क्वीन्सीले विश्वमा रंगभेदका लागि कुनै पनि ठाउँ नभएको र सामाजिक मिडियामा पनि यसले कुनै स्थान पाउनु नहुने बताउनु भयो ।

सामाजिक मिडियाहरु अझ बढी उत्तरदायी र पारदर्शी हुनुपर्ने माग कोकाकोलाका प्रमुख क्वीन्सीको छ । फेसबुकले समाचार मूल्यका लागि हानिकारक र भ्रामक पोस्टहरु छुट्याएर मात्रै दिने बताएपछि सो कुरा आएको हो ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकले कुनै पनि मानिसको जातियता, राष्ट्रियता, धार्मिक आस्था, बसास सराई, लैंगिक अवस्था र पहिचान लगायतका विषय घृणा फैलाउने सामाग्रीका लागि विज्ञापन निलम्बन गर्ने बताउनु भएको छ ।

फाइदाका लागि घृणा बन्द गर अभियानका आयोजकहरुले फेसबुकले घृणा फैलाउने अभिव्यक्ति र गलत सूचना प्रवाह गरेको आरोप लगाएका छन् । ९० भन्दा बढी कम्पनीहरुले अभियानको समर्थनमा त्यस्ता विज्ञापन रोकेका छन् ।

बहिष्कारको परिणामस्वरुप शुक्रबार फेसबुकको व्यापार ८.३ प्रतिशतले घटेको छ । जसले ५६ अर्व डलरको बजार मूल्य घटेको छ । जसले मार्क जुकरवर्गको व्यक्तिगत फाइदा ७.२ अर्व डलर घटेको छ ।


ताजा खबर