सर्लाहीमा पनि देखा पर्‍यो सलह : किसान चिन्तित

गत वर्ष फौजी किराले बाली नष्ट पारेको पीडा सेलाउन नपाउँदै यस वर्ष पनि सलह किराको अर्को चुनौती किसानहरूले सामना गर्नु पर्ने अवस्था आएको छ ।

सर्लाहीमा सलह किरा देखापरेपछि यति बेला किसानहरू चिन्तित बनेको छ । लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा आज बिहान सलह किराको विशाल झुन्ड फेला परेपछि बाली नाली नष्ट हुने डरले किसानहरू चिन्तित बनेका हुन ।

तेल बाली अनुसन्धान कार्यक्रमको कार्यालयको बालीहरूमा सलह किराको झुन्ड देखिएको छ । सलह किरा बालीनालीमा एकसाथ ठुलो सङ्ख्यामा बसेर बालीसहित बोट नै खाने गरेकोले आफूहरूले लगाएको धान बालीमा नष्ट गरिदिने चिन्ता लागेको चन्द्रनगर वडा नं. २ का किसान विक्रम दासले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष आफूहरूले फौजी किराको प्रकोप झेल्नु पर्‍यो अब यो वर्ष फेरी सलह किराले बाली सखाप गरिदिने हो की चिन्ता लागेको बताउनुभयो ।

नवलपुरमा रहेको तेल बालीमा बदाम ,घैँचा, धानको बेर्ना लगायतमा सलह किराले छोपी सकेको छ । साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६:१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौँको सङ्ख्यामा किराको झुन्ड रहेको तेल बाली अनुसन्धान कार्यक्रम कार्यालयका प्रमुख डा। विश्वेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।

बिहान किरा भगाउन ड्रम पनि बजाएका थियौँ र किरा नियन्त्रण गर्न कलोरापाईरपस, साइफरमिथरीन मिसाएर ५ एमएल पर लिटर पानीमा हालेर स्प्रे गर्दा किरा मर्ने कार्यक्रम प्रमुख यादवले बताउनुभयो ।

‘अहिले लाखौँ करोडौँ सङ्ख्यामा यो किरा नदेखिएको र यो हजारौंको सङ्ख्यामा मात्र देखिएकोले किसानहरू आत्तिनुपर्ने, डराउनु पर्ने अवस्था नरहेको प्रमुख यादवले बताउनुभयो । अहिले किरा नियन्त्रणका लागि स्थानीयसहित कार्यालयका प्राविधिकहरू खटेका छन् । बालीहरूमा क्षति पुर्‍याउन थालेपछि किरा मार्न औषधी छर्किने कार्य हुने कार्यक्रम प्रमुख यादवले जानकारी गराउनुभएको छ ।

सलह किरा सबैभन्दा पहिला अफ्रिकी मुलुकमा देखा परेको थियो । त्यसपछि फैलिन सुरु भएको सलह किरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो । ठुलो समूह र लामो दुरीमा उड्ने सलहले हरियो बोटबिरुवा पुरै नष्ट पार्ने गर्दछ । भारतमा यसले कृषि बालीमा निकै ठुलो क्षति पुर्‍याएको छ ।


ताजा खबर