पदमप्रसाद रिजाललाई बाध्यताले ‘सफल किसान’ बनायो

आफूले निर्धारण गरेका सबै लक्ष्य पूरा नहुन पनि सक्छन् । आफ्नो लक्ष्य पूरा नहुँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ । कतिपय मान्छेलाई लक्ष्य प्राप्तिको अधुरो यात्राले अर्को बाटोतर्फ डोहो-याउँछ । पीडाले पहिल्याएको बाटो नै सफल बन्नका लागि प्रेरणाको स्रोत भइदिन्छ । लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले कृषि पेसा अँगालेका फालेलुङ ७ का ५२ वर्षीया पदमप्रसाद रिजाल अलैंची खेतीका सफल कृषक बनेका छन् ।

२०२२ साल असार २२ गते फालेलुङमा जन्मिएका पदमले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । धेरै पढ्न नपाएर कृषि पेसामा हात हालेका पदमले अलैंचीबाट राम्रो सफलता प्राप्त गरेका छन् अहिले । पढ्न नपाएकोमा जति धेरै पीडा छ, अलैंची खेतीबाट पाएको सफलताबाट त्यति नै खुसी छन् पदम ।

‘धेरै पढ्न नसकेपछि विकल्प नभएर खेती गर्ने बाध्यता थियो’, पदम भन्छन् ‘कृषिबाट यस्तो राम्रो आम्दानी गर्छु भन्ने लागेकै थिएन । बाध्यताले सफल बनाउँदो रहेछ ।’ पदमका बुवा आमा पनि खेती नै गर्थे । खेतीबाट परिवार सञ्चालन गर्न नै धौ धौ परेको भोगाइले पदमलाइ नपिरोलेको हैन । किसनाको आर्थिक अवस्था कमजोर हुन्छ भन्ने आम किसानका धारणा जस्तै पदमको बुझाइ थियो । त्यहीँ भएर पदमले धेरै पढ्ने, राम्रो जागिर खाने अनि टन्न पैसा कमाएर परिवारको आर्थिक अवस्था सुधार्ने सोच बनाएका थिए । तर, पदमले धेरै पढ्न नसकेपछि जागिर खान सकेनन् । कृषि पेसा नै गर्नुपर्ने पदमको बाध्यता बन्यो ।

केही वर्ष परमपरागत रूपमै खेती गरे उनले । परम्परागत निर्वाहमुखी खेतीबाट राम्रो आम्दानी नभएपछि पदमले अलैंची खेती सुरु गरे । ‘कम मेहनत मै अलैंची खेतीबाट राम्रो आम्दानी हुन थाल्यो,’ उनी भन्छन् ‘राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा अलैंची खेतीमा होमिएको हो ।’ पदमलाई बाँच्नुपर्ने बाध्यता थियो । बाँच्ने बाध्यताले कृषिमा लागेका पदमले अहिले अलैंची खेतीबाट लाखौं रुपैयाँ कमाउँछन् ।

२०५२ सालदेखि अलैंची खेती सुरु गरेका पदमले अहिले ४० रोपनी जमिनमा खेती बिस्तार गरेका छन् । सबै खर्च कटाएर अलैंचीकै आम्दानीबाट वार्षिक तीन लाख बचत गर्ने गरेको उनी सुनाउँछन् । पदमले अलैंची खेतीकै लागि वार्षिक ५० हजार खर्च गर्छन् । उनका दुई जना छोरा छन् । जेठो छोरा नरेन्द्र रिजाल झापामा कक्षा ११ पढ्दै छन् । कान्छो छोरा प्रकाश रिजाल झापास्थित सरेडाँगी संस्कृति विद्यालयमा अध्ययन गरिरहेका छन् । दुई छोरालाई पढाउन ५० हजार खर्च हुने पदको भनाइ छ । ‘छोराहरूलाई पढाउन समस्या छैन,’ उनी भन्छन् ‘अलैंची खेतीबाट राम्रै आम्दानी गरिरहेको छु ।’

पदमले अलैंची खेतीका लागि जिल्ला कृषि विकास कार्यालय पाँचथरबाट पाइप, विषादी, पुस्तक, स्पे्र मेसिन, अलैंची नर्सरीका लागि जाली, बीउलगायत सहयोग पाएको बताए । जिल्ला कृषि विकास कार्यालयले अलैंची खेतीका लागि विभिन्न किसिमको तालिम पनि प्रदान गरेकाले अलैंची खेतीमै सफलता हात पारेको उनी बताउँछन् ।


ताजा खबर