‘सरकारको पहिलो प्राथमिकता,जनताको जीवनरक्षा’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राज्यका सञ्चारमाध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र रासससँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ ।

सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब यसले हामीलाई झुक्याउन सक्दैन । ”

कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले नागरिकको जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराखिने पनि प्रष्ट पार्नुभयो ।

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उहाँले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताउनुभयो ।
विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेशद्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा भावुक कुरा गर्न नहुने बताउनुभयो ।

नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीले स्वदेश आउन नपाएको गुनासोलाई सरकारले कसरी सम्बोधन गर्दैछ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताउनुभयो । कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उहाँहरू घर फर्कनुपर्ने प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई कोरोना भाइरसको इपिसेन्टर हुन नदिने उल्लेख गर्दै यस महामारीविरुद्ध लड्न र सफलता पाउन विश्व एकताबद्ध भई लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

अहिलेको असामान्य परिस्थितिमा नागरिकका लागि केही असुविधा हुन सक्छन् तर सरकार जनताका समस्या समाधान गर्न सधैँ तत्पर रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले लकडाउनको अवस्थामा हिँडेरै घर जाने क्रममा रहेका मानिसलाई उनीहरू जहाँ पुगेका छन् त्यहाँ खानेबस्ने व्यवस्थासमेत गरिएको जानकारी दिनुभयो । अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले रोग र भोकले जनता मर्न नदिन आवश्यक व्यवस्था गरिएको छ भन्नुभयो ।

औषधि खरिद प्रक्रियामा अनियमितताबारे राखिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू पैसा कमाउन नभई देश बनाउन लागिरहेको बताउँदै औषधि तथा उपचारका अन्य सामग्री खरिदमा अनियमितता भएको भए कोही पनि कारबाहीबाट उम्कन नपाउने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ठूलो सङ्ख्यामा नेपाली रहेका भारतलगायत विभिन्न मुलुकका समकक्षी र उच्च व्यक्तित्वसँग आफुले नेपालीको अवस्थाबारे लगातार टेलिफोन संवाद गर्दै आएको र ती संवादबाट नेपालीलाई त्यहाँका नागरिकसरह व्यवहार गर्ने गरी राम्रो समझदारी बनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले साइप्रसमा रहेका नेपालीका बारेमा आउँदो बुधबार त्यहाँका राष्ट्रपतिसँग कुराकानी गर्ने जानकारी दिनुभयो । उहाँले नेपालमा रहेका विदेशी नागरिकलाई पनि भोकै मर्न नदिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोरोना भाइरस फैलन नदिन परीक्षणलाई तीव्र पार्दै ७७ वटै जिल्लामा साधन, स्रोत, उपकरण र जनशक्ति पु¥याइएको छ । ” उहाँले कोरोना नियन्त्रणका लागि हरेक जिल्लामा सुविधासम्पन्न अस्पताल बन्ने हुँदा कोरोना नियन्त्रणपछि मुलुकले स्वास्थ्य उपचारमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बाहिरबाट आएका, तिनका सम्पर्कमा रहेका र सम्पर्कमा आउने सम्भावना भएका नागरिकको खोजीखोजी परीक्षण गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा हाल आपूर्ति व्यवस्था ठीक रहेको स्पष्ट गर्दै बन्दाबन्दीपछि ८० करोड रुपियाँ बराबरको राहत बाँडिएको जानकारी दिनुभयो । उहाँले एकै ठाउँमा बसेर काम गर्ने अवस्था भएमा रोजगारको व्यवस्था गर्न सकिने समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा नेपाली जनताबाट प्राप्त सहयोग, समर्थन र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताले अत्यन्तै ठूलो समझदारी देखाउनुभएको छ । परिस्थिति बुझ्नुभएको छ । ”

उहाँले भन्नुभयो, “सरकारसँग एकताबद्ध ढङ्गले काँधमा काँध मिलाएर सुदृढ समर्थन, साथ सहयोग गरेर कोभिडविरुद्धको लडाइँमा हरेक नेपालीले सिपाहीको भूमिका खेल्नुपर्छ । ” प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नेपालप्रति सहयोग र सद्भाव राख्ने मित्रराष्ट्रलाई पनि धन्यवाद दिनुभयो ।

(प्रधानमन्त्रीसँगको विशेष अन्तर्वार्ता पछि प्रकाशन गरिने छ ।) रासस


ताजा खबर