स्थानीय तहलाई साधन, श्रोत र जनशक्ति परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १९ हजार ४ सय ३२ जनामा कोरोना परीक्षण भएको जनाएको छ ।

परीक्षणको दायरा बढाउने क्रममा छिटो विधिबाट १२ हजार १ सय ९२ र पिसीआर प्रविधिबाट ७ हजार २ सय ४० जनामा कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छिटो विधिबाट परीक्षण भएका नमुनामध्ये केहीको नतिजा पोजेटिभ आएपनि पिसीआर मेसीनबाट पुनः परीक्षण गर्दा संक्रमण नभएको पाइएको जानकारी दिनुभयो ।

तीन जना भारतीयमा नागरीकमा कोरोना संक्रमण पुष्टिभएपछी बीरगञ्जको छप्कैयामा ४ सय जनाको छिटो विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको डा. देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २,बाग्मती प्रदेश,प्रदेश नम्बर ५ र सुदुरपिश्चम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको बाँकी रहेका ताप्लेजुङ्ग, इलाम, ओखलढुङगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पामा पनि छिटै शूरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका र रेडजोनमा रहेका २ सय ४७ जनाको कन्ट्रयाक्ट ट्रेसिङ्ग शूरु भइसकेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले आफूसँग भएको साधन,श्रोत र जनशक्तिको अभिलेख तयार गर्न र विदेशबाट आएकोहरु क्वारेन्टाइनमा बसे नबसेको सम्बन्धमा अनुगमन गर्न मन्त्रालयका प्रवक्ता डा. देवकोटाले आग्रह गर्नुभयो ।

संघ,प्रदेश र स्थानीय तहसँग समन्वय गर्न, प्रदेशमा जनशक्ति व्यवस्था गर्र्न , प्रदेश स्तरबाट कोरोना नियन्त्रणका लागि भएका प्रयासमा सहजिकरण गर्न टोली खटाइएको छ ।

कोभिड क्लनिक संचालनको अनुमति प्राप्त २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल र २२ वटा मेडिकल कलेजहरु रहेकोमा काठमाडौं उपत्यकाका थप १६ वटा निजि अस्पताललाई पनि कोभिड क्लिनीक संचालन गर्न सूचीकृत गरीएको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका विरामीहरु एक ठाउँबाट अर्को ठाउँमा लैजान नेपाल रेडक्रस सोसाईटी र सय भन्दा बढी शैया भएका निजी अस्पतालका एम्बुलेन्स मार्फत १०२ नम्बर टेलिफोनबाट सेवा दिने मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र प्रादेशिक स्वास्थ्य निर्देशनालयसँगको सहकार्य प्रभावकारी बनाउन प्रादेशिक बिपद् व्यवस्थापन केन्द्रसँग बैठक गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो । रासस


ताजा खबर