अनुमति बिना संक्रमितको विवरण प्रकाशन प्रसारण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १५ हजार ८ सय जनामा कोरोना परीक्षण भएकोमा १६ जना बाहेक अन्यमा कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ ।

घाँटीको स्वाबको नमुना परीक्षण गरीने पिसीआर मेसीनबाट ६ हजार ८ सय ७१ जना र रगतको माध्यामबाट परक्षिण गरीने छिटो विधिबाट ८ हजार ९ सय २९ गरी जम्मा १५ हजार ८ सय जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ जनाको नमुना परीक्षण भएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर २ का ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा एक/एक तथा कर्णाली प्रदेशका दुुई जिल्लामा परीक्षण शुरु हुन बाँकी रहेको जानकारी दिनुभयो ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने २ जनाका कोरोना पुष्टि भएपछी त्यस अपार्टमेन्टमा बस्नेहरुको छिटो विधिबाट परीक्षण भइरहेको छ ।

अपार्टमेन्टमा बस्ने २ सय ९८ जनाको परीक्षण गरीएकोमा सबैको नतिजा नेगेटिभ आएको र छिटो विधि परीक्षणमा पोजेटिभ देखिएका एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन परीक्षण गर्दा कोरोना नभएको मन्त्रालयले जनाएको छ ।

५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेका र १ सय १७ जना आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले संक्रमण रोकथाम गर्न देश लकडाउनमा रहेको अवस्थामा मानसिक स्वास्थ्यमा ध्यान दिन सर्वसाधारणमा अनुरोध गर्दै घरमा बसेर गर्न सकिने कार्यालयका काम गर्न, परिवारका सदस्यबिच मनोरञ्जनात्क क्रियाकपाल गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।

केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विरामीको विवरण निजको अनुमति बिना प्रकाश र प्रशारण गर्न नपाइने भएकाले त्यसो नगर्न आग्रह गरेको छ । रासस


ताजा खबर