यसै आर्थिक वर्ष भित्रमा जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने : मन्त्री नेम्वाङ्ग

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले यसै आर्थिक बर्ष भित्रमा जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने बताउनु भएको छ ।

मन्त्री नेम्वाङ्गले जनकपुर–जयनगर रेल्वेको भौतिक संरचनाको आज निरीक्षण गर्दै पत्रकारहरुसँग कुरा गर्दै रेल सञ्चालनका लागि एक वटा ईन्जिन तथा वोगी निर्माण भएको र अर्को निर्माणको क्रममा रहेको बताउँदै यसै आर्थिक वर्षमा सेवा सञ्चालन हुनेमा ढुक्क रहनका लागि जनतालाई आग्रह गर्नुभयो ।

उहाँले रेल सञ्चालनका लागि मानवीय जनशक्तिको व्यवस्थापन गर्ने कामकाज पनि भईरहेको बताउदै रेलको बर्दिवास खण्डको निर्माण जारी नै रहेको बताउनुभयो । उहाँले दुई सय ६० कर्मचारीको दरबन्दी पनि सृजना गरिएको बताउनुभयो ।

उहाँले यात्री बाहक रेल सेवा सञ्चालन भएपनि मालबाहक रेल सञ्चालनको लागि प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

उहाँले नेपाल सरकारले पूर्व पश्चिम रेल मार्ग, उत्तर दक्षिण रेल मार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको कामकाज अगाडी बढाएको बताउनुभयो ।

उहाँले प्रदेश नंं २ को विकासका लागि सरकार गम्भिर भएको बताउदै हुलाकी राजमार्गको निर्माणमा गति दिनका लागि नै उच्चस्तरीय भ्रमण टोलीले प्रदेश भरिको हुलाकी सडकसहित प्रदेश भरिको सडकहरुको अनुगमन गरिरहेको बताउनुभयो ।

मन्त्री नेवाङ्गसँग श्रममन्त्री रामेश्वर राय यादव पनि निरीक्षणमा सहभागी हुनु भएको थियो ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक बलराम मिश्र सडक विभागका महानिर्देशक केशव कुमार शर्मा तथा भारतीय राजदूतावासका काउन्सिलर प्रफुल्ल शर्मा पनि उपस्थित रहनु भएको थियो ।

भारत सरकारको १० अर्बको लगानीमा जनकपुर–जयनगर–बर्दिवास रेलको निर्माण गर्ने काम भईरहेको छ भने जयनगर देखि कुर्थासम्मको निर्माण सम्पन्न भईसकेको छ ।


ताजा खबर