इराकमा जारी प्रदर्शन र हिंसा रोक्न संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रसङ्घले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ।

सरका विरुद्ध केही दिनदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या झन्डै १०० पुगेको अवस्थामा राष्ट्रसङ्घबाट त्यस्तो अभिव्यक्ति आएको हो।

प्रदर्शनकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवाविरुद्ध आफूहरूले अडान लिएको बताएका छन्।

इराकका लागि राष्ट्रसङ्घको सहायता अभियानकी प्रमुख जानिन हेनिस प्लेसचार्टले भनिन्, “मृत्यु र घाइते हुने थालेको पाँच दिन: यो रोकिनुपर्छ।”

हत्याका लागि जिम्मेवार व्यक्तिलाई कानुनको परिधिमा ल्याइनुपर्ने उनले बताइन्।

शनिवार बग्दादको पूर्वी क्षेत्रमा भएको प्रदर्शनलाई सुरक्षा अधिकारीहरूले तितरबितर पारिदिएका थिए।

राजधानीमा भएका भिडन्तहरूमा पाँच जनाले ज्यान गुमाएको बताइएको छ। सुरक्षा अधिकारीहरूले पुनः अश्रुग्यास प्रहार गरेको बताइएको छ।

प्रदर्शनका क्रममा मृत्यु भएका एक व्यक्तिको शवयात्रा

गत मङ्गलवार राजधानीबाट सुरु भएको प्रदर्शन बिस्तारै दक्षिणी भेगमा फैलिएको थियो।

इराकको संसद्अन्तर्गत रहेको मानवाधिकार आयोगका अनुसार हालसम्म कम्तीमा ९९ जना को मृत्यु भएको छ भने घाइतेहरूको सङ्ख्या झन्डै चार हजार रहेको छ।

इराकमा सन् २०१७ मा इस्लामिक स्टेट भनेर चिनिने आतङ्कवादी समूह पराजित भएको घोषणा गरिएपछिको यो सबैभन्दा खतरनाक अवस्था हो।

बग्दाद

सत्तामा आएको एक वर्ष पुग्न लागेका प्रधानमन्त्री अदेल अब्देल मादीको नेतृत्वको सरकारका लागि यो सबैभन्दा ठूलो चुनौती रहेको बताइएको छ।

अधिकारीहरूले तनाव कम गर्न कर्फ्यू लगाउनुका साथै इन्टरनेट सेवा लगभग ठप्प पारेका छन्।

प्रदर्शनका क्रममा मृत्यु भएका धेरै व्यक्तिहरूको अन्तिम संस्कार शनिवार गरियो


ताजा खबर