इराकमा सरकारविरोधी प्रदर्शन, चार दिनमा कम्तीमा ६० मारिए

इराकमा सरकारविरुद्ध चार दिनदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या कम्तीमा ६० पुगेको अस्पताल र सुरक्षा निकायका स्रोतहरुले बताएका छन्।

बितेको २४ घण्टामा प्रदर्शनकारी र प्रहरीबीच झडप बढ्दै गएपछि यो सङ्ख्या झन् बढ्ने अनुमान गरिएको छ।

सेनाले ‘अज्ञात बन्दुकधारीहरूले’ बगदादमा चारजनाको हत्या गरेको र त्यसमध्ये दुईजना प्रहरी अधिकारी रहेको बताएको छ।

प्रधानमन्त्री अदेल अबदुल माहदीले प्रदर्शनकारीहरूले उठाएका ‘जायज मागहरूको सुनुवाइ भएकाले’ प्रदर्शन रोक्न आग्रह गरेका छन्।

इराक

इराकका व्याप्त बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारका कारण छाएको निराशामाझ मङ्गलवार स्वतस्फूर्त विरोध शुरू भएको हो।

माहदीको नेतृत्वमा रहेको कमजोर सरकारका लागि यो पहिलो ठूलो चुनौतीका रूपमा हेरिएको छ। उनी सत्तामा आएको एक वर्ष पुग्नै लागेको छ।

प्रधानमन्त्रीको आग्रह नकार्दै शुक्रवार सयौँ इराकीहरू सडकमा उत्रेका थिए।

प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाउनुका साथै इन्टरनेट सेवा अवरुद्ध गर्दापनि प्रदर्शनकारीहरूलाई रोक्न सकेन।

समाचार संस्था रोयटर्सका अनुसार राजधानीको ताहिर स्क्वायर पुग्न खोज्ने प्रदर्शनकारीहरूलाई सुरक्षा बलले गोली प्रहार गरेको देखिएको थियो।

घटनास्थलमा उपस्थित रोयटर्सका एकजना पत्रकारका अनुसार थुप्रै मानिसहरूलाई गोली लागेको छ। उनले टाउको र पेटमा गोली लागेका घाइतेहरू पनि देखेका छन्।

शुक्रवारमात्र कम्तीमा १० जनाको मृत्यु भएको चिकित्सकहरू र सुरक्षा स्रोतले बताएका छन्।

सुरक्षा निकायका अनुसार बगदादको केन्द्रमा बन्दुकधारीहरूले चलाएको गोलीका कारण दुई सर्वसाधारण सहित चार जनाको मृत्यु भएको छ।

मारिनेहरूमा छ जना सुरक्षाकर्मी रहेको र सयौँ घाइते भएको बताइएको छ।

इराकतस्वीर कपीराइट

ताजा खबर