चेपाङको दशैँ: ‘वृद्धभत्ताबाट चामल र मासु किन्छौँ’

चितवनको कालिका नगरपालिका १० सिद्धीका अति विपन्न चेपाङ समुदायले वृद्धभत्ता बुझेर दशैँ मनाउने भएका छन्।

आम्दानीको श्रोत नभएका यी चेपाङ वृद्धवृद्धाहरू सरकारले दिँदै आएको वृद्धभत्ता दशैँको मुखमा पाउँदा राहत महसुस गरेका छन्।

नगरपालिका घोषित भएपनि आधारभूत सुविधासमेत नभएको विकट पहाडी भेगका चेपाङहरू वृद्धभत्ता पाउँदा निकै खुशी देखिएका थिए।

भत्ताले मासुभात

सरकारले प्रदान गरेको वृद्धभत्ताले नै दशैँको सामान खरीद गर्ने न्याउरीमाया चेपाङले बताइन्।

उनले भनिन्, “यहाँ हामी भत्ता माग्न आएका हौँ। यो पैसाले हामी कुखुरा र चामल किनेर मासुभात खान्छौँ।”

चेपाङ

वृद्धवृद्धाहरू ब्याङ्कसम्म जान नसक्ने भएपछि ब्याङ्कले उनीहरूलाई पायक पर्ने वडा कार्यालयमा भत्ता वितरण गरेका थियो।

वृद्धभत्ता बुझ्न विकट पहाडी क्षेत्र पाईमाराङ, सईपाम र जिङलाउलगायत स्थानबाट चार घण्टा हिँडेर आएका थिए।

वृद्धभत्ताले दशैँ मनाउन सहज भएको मझुवाकी बुद्धिमाया चेपाङले बताइन्।

चेपाङ

‘ठूलो सहयोग’

उनले भनिन्, “भत्ताबाट आएको पैसाबाट हामी दसैँलाई खर्च गर्छौँ। मासु किन्छौँ।”

वृद्धभत्ता नपाएको भए ऋण गरेर दशैँ मनाउन पर्ने उनीहरू बताउँछन्।

वृद्धभत्ता प्रतिमहिना तीन हजारको दरले चार महिनाको १२ हजार पाउँदा वृद्धवृद्धाहरू खुशी देखिएका थिए ।

वडा अध्यक्ष दिलबहादुर गुरुङले भत्ताले उनीहरूलाई राहत हुने बताए।

“दशैँमा उहाँहरूलाई भत्ताले सरसामान किन्न ठूलो राहत दिन्छ। बिहानबेलुका छाक टार्न पनि मद्दत गर्छ।”

चेपाङ समुदायलाई खेतीपातीबाट छ महिना मात्र खान पुग्ने उनले बताए।

Source: #BBC_Nepali_Sewa

ताजा खबर