आउँदो १० वर्षभित्र नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्छ : डा. धनञ्जय रेग्मी

हिमाली क्षेत्रको जलवायु र वातावरणको अध्ययनमा लामो समय विताएपछि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका डा. धनञ्जय रेग्मी भन्छन्, “हामीसँग पर्यटन सम्बन्धी स्पष्ट नीति छैन।”

पर्यटन विकासका योजना के छन् ?
नेपालमा पर्यटनका क्षेत्रको पहिचान गरेर विश्व बजारमा बिक्री गर्न प्रयास गरे पनि सफल हुनसकेका छैनौं । हामी भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने योजनामा छौं तर, त्यो भन्दा चार गुणा बढी पर्यटक भित्र्याउने योजना बनाउनुपर्छ । त्यसका लागि दुई वा तीन वर्षको योजनाले हुँदैन । हामीले पर्यटकका लागि देखाउने वस्तु पहिचान गर्न सक्यौं भने आउँदो १० वर्षभित्र नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्छ ।

पर्यटन विकासमा कहाँ चुक्यौं ?
हामीले हाम्रा महत्वपूर्ण पर्यटकीय स्थलहरूको विनाश गरेका छौं । जस्तो, सडक बनाएर अन्नपूर्ण पदमार्गलाई बिगार्‍यौं, मनास्लु क्षेत्र बिगार्दैछौं । पदयात्राका लागि संसारमै नेपाल राम्रो गन्तव्यका रुपमा चिनिन्थ्यो । त्यसलाई बुझ्न सकेनौं । हामीले सबै पर्यटकीय गन्तव्यहरूलाई जोगाउँदै उचित विकास गर्नु आवश्यक छ ।

पर्यटन क्षेत्रका चुनौती के–के हुन् ?
पर्यटन सम्बन्धी स्पष्ट नीति नै छैन । हामीकहाँ गर्मीदेखि चिसो हावापानी छ, संसारमा पाइने बहुसंख्यक वनस्पतिहरू यहाँ पाइन्छन् । अध्ययन अनुसन्धानको लागि नेपाल राम्रो ठाउँ हो । तर, त्यसबारे संसारलाई चिनाउन सकेनौं ।

काठमाडौंका ऐतिहासिक ठाउँहरू सबै मल्लकालमा बनेका हुन् । हिमालमा जाने पदमार्ग र पछिल्लो समय भएको लुम्बिनी क्षेत्रको विकास मात्र हामीले बनाएको हो । नयाँ ‘प्रडक्ट’ को विकास नै मुख्य चुनौती हो ।

चुनौती कसरी पन्छाउनुहुन्छ ?
गाउँमा भएका क्लब मार्फत पर्यटनबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं । अब विद्यालयमा पर्यटन र स्वच्छता सम्बन्धी विषयहरूको पाठ्यक्रम नै बनाउनुपर्छ । शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँग मिलेर पाठ्यक्रम बनाउन पहल गर्छु ।

तपाईंको कार्यकालमा पर्यटन क्षेत्रले के अपेक्षा गर्ने ?
मैले लामो समय हिमाली क्षेत्रको अध्ययनमा बिताएको छु । मेरो अनुसन्धानबाट प्राप्त जानकारीलाई उपयोग गरेर पर्यटन विकासका अल्पकालीन र दीर्घकालीन योजना बनाउँछु । अध्ययन अनुसन्धान विना नै काम गरिहाल्ने प्रवृत्ति रोक्छु ।

( डा. रेग्मी नेपाल पर्यटन बोर्डका सीईओ हुन् । )

 

 


ताजा खबर