नेपाल टेलिकमले सीडीएमए बन्द गर्ने : हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गरिने

ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।

टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम (यूटीएल)ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो । सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महŒवपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । टेलिकमले आठ सय ५० मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज (सेयर्ड) फ्रिक्वेन्सीमार्फत सीडीएमए सेवा उपलब्ध गराइरहेको छ । पछिल्लो समय जीएसएम प्रविधिको देशका अधिकांश ठाउँमा पहुँच पुगिसकेकाले सीडीएमएका लागि प्रयोग भएको फ्रिक्वेन्सीसमेत बचत हुने अधिकारीले बताउनुभयो । प्रविधिगत रूपमा विश्वव्यापीस्तरमै सीडीएमए सेवाको विकास क्रम रोकिएकाले नियामक समेतको सहकार्यमा यो सेवालाई रूपान्तरणसहित बन्द गर्ने कार्यक्रम कम्पनीले ल्याएको हो, उहाँले भन्नुभयो ।

टेलिकमले वार्षिकोत्सवका अवसरमा देशका सबै जिल्लाका सदरमुकाममा फोरजी सेवा पुगेको घोषणा पनि गरेको छ । देशैभर एफटीटीएच सेवा विस्तार गर्ने र त्यसैमार्फत इन्टरनेटमा आधारित टेलिभिजन सेवा पनि उपलब्ध गराउनेतर्फ काम भइरहेको टेलिकमले जनाएको छ । विगत एक वर्षमा मात्रै कम्पनीका सक्रिय ग्राहक सङ्ख्या करिब १० लाखले बढेको र बजार हिस्सा समग्रमा ५५ प्रतिशतभन्दा माथि रहेको कम्पनीले जनाएको छ । कात्तिक महिनासम्मको तथ्याङ्कअनुसार कम्पनीका कुल ग्राहक दुई करोड ३६ लाख पुगेका छन् ।

त्यस्तै कम्पनीको डेटा प्रयोगकर्ता सो महिनासम्म एक करोड ४६ लाख रहेको पनि टेलिकमले जनाएको छ । वार्षिकोत्सवका अवसरमा केरुङ नाकातर्फ सञ्चालित टेलिकमको लिङ्कलाई तातोपानी नाकामा पनि पुनः सञ्चालन गर्ने, कम्पनीको प्रशासनिक संरचनालाई सङ्घीय स्वरूपमा लैजानेजस्ता काम अगाडि बढिरहेको पनि जानकारी दिइएको छ ।

‘फोरजीको वाचा पूरा भयो’
देशैभर कमसेकस सबै ठाउँमा एकै वर्षभित्र फोरजी पु¥याउने सरकारको योजना पूरा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ । टेलिकमको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देशैभर हरेक ठाउँमा नपुगे पनि कम्तीमा सबै जिल्लामा यसको पहुँचमा सफलता प्राप्त भएको बताउनुभयो । एक वर्षभित्र सबै जिल्लामा पु¥याउँछौँ भन्दा मन्त्रीको फोस्रा गफ भन्थे, उहाँले भन्नुभयो, आज त्यो वाचा करिब पूरा भएको छ । सबै ठाउँमा पूरा हुन केही समय लाग्ने भए पनि एक वर्षको अठोटअनुसार काम भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले फोरजीको पहुँच विस्तार भएकाले अब यसको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । भूगोलमा त सेवा पुग्यो अब त्यसको गुणस्तरमै कम्पनीले जोड दिनुपर्छ, उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न मागसहित उपस्थित भएका टेलिकमको टे«ड युनियनका कर्मचारीलाई उहाँले टेलिकम राजनीति गर्ने ठाउँ नभएको र जायज माग सरकारले पूरा गर्ने बताउनुभयो । वार्षिकोत्सवका दिनमा रमाइलो साटासाट गर्नुपर्नेमा विरोधसहित उपस्थित हुनु राम्रो नभएको र त्यस्तो प्रवृत्तिलाई आफूले दृढतापूर्वक पराजित गर्ने उहाँको भनाइ थियो । आमाको जन्मदिनमा मङ्गल धुन बजाउने कि शोक धुन ? कर्मचारीलाई उहाँको प्रश्न थियो । टेलिकमभित्रको अराजकता आफूले नसहने पनि उहाँले स्पष्ट पार्नुभयो । टेलिकम जनताको सम्पत्ति भएको र यसमा सबैले मलजल गर्नुपर्ने उहाँको सुझाव थियो । विगतमा गोरखकाली टायर, टिम्बर कर्पोरेसनजस्ता सरकारी कार्यालय धराशयी भएको उदाहरण रहेकाले टेलिकमले आफूलाई अब्बल बनाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले देशैभर अप्टिकल फाइबर बिछ्याउने परियोजनामा सरकारले टेलिकमलाई ‘कान्छो छोरो’जस्तो व्यवहार गरेकाले समयमै यसलाई पूरा गर्न निर्देशन दिनुभयो । राज्यले विभेदकारी नीति लिन नसक्ने भएकाले प्राप्त अवसरलाई समयमै सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।


ताजा खबर