‘ममीजस्तै गायिका बन्ने सपना थियो’ : सुवानी मोक्तान

रेडियोकर्मी, समाचारवाचक, कार्यक्रम प्रस्तोता र गायिका, सुवानी मोक्तानका धेरै परिचय छन्। प्रसिद्ध संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानकी कान्छी छोरी हुन्, उनी। सानैदेखि गीत गाउनमा रुचि राख्थिन्। ‘सानो छँदा ममीको स्वरमा स्वर मिलाएर गीत गाउँथेँ,’ उनी भन्छिन्, ‘ममीजस्तै गायिका बन्ने सपना थियो मेरो।’

काठमाडौं, बौद्धमा जन्मिएकी उनले काठमाडौँ, ज्ञानेश्वरस्थित ग्यालेक्सी स्कुलमा पढिन्। त्यसै स्कुलमा पढाउँथिन्, आमा कुन्ती। भन्छिन्, ‘गायिकाको छोरी भनेर भन्दा पनि टिचरको छोरी भनेर सबैले चिन्थे। सबैकी प्यारी थिएँ।’ स्कुलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय थिइन्, सुवानी। भन्छिन्, ‘स्कुलमा धेरै पुरस्कार जितेकी छु। स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ। जित्थेँ पनि।’

मूल घर दार्जिलिङ भए पनि उनको बाल्यकाल काठमाडौँमै बित्यो। घरको माहौल सांगीतिक थियो। बुबाले दुवै छोरीलाई बाजा बजाउन सिकाउँथे। सुवानी भन्छिन्, ‘दिदीलाई भ्वाइलिन र मलाई किबोर्ड सिकाउनुहुन्थ्यो।’ पाँच कक्षामा पढ्दा सुवानीले ‘लिन लेडी’ नामक बालबालिकाको सौन्दर्य प्रतियोगितामा भाग लिइन्। ‘त्यहाँ मैले जितेँ,’ उनी भन्छिन्, ‘त्यसपछि इमेज एफएममा बालबालिकाको कार्यक्रम चलाउने मौका पाएँ।’ एफएममा उनले पाँच वर्षसम्म सो कार्यक्रम चलाइन्। भन्छिन्, ‘सुरुमा बालबालिकाको कार्यक्रम चलाएँ। त्यसपछि अन्य कार्यक्रममा पनि सरिक हुन थालेँ।’ बालबालिकाको कार्यक्रमबाट सुरु भएको उनको रेडियो यात्रा आठ वर्षसम्म चल्यो। ‘त्यहाँ मैले बालबालिका, संगीत र मनोरञ्जनसम्बन्धी थुप्रै कार्यक्रम चलाएकी थिएँ,’ उनी भन्छिन्।

इमेज एफएम छोडेपछि उनको यात्रा टेलिभिजनतर्फ मोडियो। रेडियोमा काम गर्दा बटुलेका अनुभव लिएर उनी टेलिभिजनतिर लागिन्। भन्छिन्, ‘मैले न्युज ट्वेन्टी फोरमा अंग्रेजीमा समाचारवाचकका रूपमा काम गर्न थालेँ।’ चार वर्षसम्म लगातार समाचारवाचकको काम गरिन्। त्यसपछि उनी हिमालयन टेलिभिजनमा कार्यक्रम चलाउन थालिन्। भन्छिन्, ‘हिमालयन टेलिभिजनमा ‘द इभिनिङ सो’ नामको टक सो चलाएँ।’ रेडियो, टेलिभिजनमा काम गर्दादेखि नै उनलाई विभिन्न कम्पनीका विज्ञापनमा काम गर्ने अफर आउन थाले। त्यहाँबाट पनि उनको चर्चा चुलियो। भन्छिन्, ‘विज्ञापनमा मोडलिङ गर्नेदेखि भ्वाइस ओभर गर्ने काम गरिरहेकी थिएँ।’

विभिन्न ठाउँमा काम गर्दै उनले आफ्नो पढाइलाई पनि अगाडि बढाइन्। म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छिन्। भन्छिन्, ‘टेलिभिजनमा देखिने भएकाले धेरैले मलाई चिन्थे।’

काम र पढाइ सँगसँगै लगिरहेकी सुवानीले आफ्नो सांगीतिक यात्रा पनि सुरु गरिन्। उनको पहिलो गीत ‘आँशु झर्छ केवल’ थियो। भन्छिन्, ‘त्यहाँबाट मैले आफ्नो सांगीतिक यात्रा सुरु गरेँ।’ गायक निर्णय श्रेष्ठसँग उनले तीन वटा गीत गाइन्। ती गीतले आफूलाई चर्चा दिलाएको उनी बताउँछिन्। ‘मान्छेले मलाई चिन्न थालेपछि दिदी शीतल मोक्तानसँग मिलेर एल्बम निकालेँ,’ उनी भन्छिन्।

विज्ञापनमा मात्रै नभई उनले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालिन्। मोडलिङ गर्न थालिन्। ‘पहिलो पटक आफ्नै दिदीको गीतमा मोडलिङ गरेँ,’ उनी भन्छिन्। अहिलेसम्म एक सयभन्दा बढी गीतमा स्वर दिएको उनी बताउँछिन्।

संगीतमा निरन्तर लागिरहेकी उनले अहिले कीर्ति म्युजिक एकेडमी स्कुल खोलेकी छिन्। काठमाडौँ, कालोपुलमा रहेको उनको म्युजिक स्कुलमा छदेखि १५ वर्षसम्मका बालबालिकाले संगीत सिक्न पाउँछन्। सुवानी त्यहाँ पियानो सिकाउँछिन्। भन्छिन्, ‘अहिलेसम्म मैले संगीतबाहेक अरू केही सोचेकी छैन। संगीतमै लागिरहेकी छु। भविष्यमा पनि यसै क्षेत्रमा हुनेछु।’


ताजा खबर