भारतका पूर्व विदेशमन्त्री सलमान खुर्सिद र विजेपी नेता शास्त्री नेपालमा

असोज १५, २०७६

चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत बाक्लिएको छ ।

केही दिनअघि मात्र भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयं सेवक संघका प्रचार प्रमुख अरुण कुमार नेपाल आएर फर्केका थिए ।

अहिले भारतका पूर्व विदेश मन्त्री एवम् काँग्रेस (आइ) का नेता सलमान खुर्सिद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता एवं राज्यसभाका सांसद डा.विजय सोनकर शास्त्री नेपाल आएका छन् ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको निमन्त्रणमा एक कार्यक्रममा भाग लिन उनीहरु नेपाल आएका हुन् । शस्त्री हिजै नेपाल आएका थिए भने खुर्सिद आज आउँदैछन् ।

उनीहरु कार्यक्रममा भाग लिन आएपनि यहाँ उनीहरुले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् । शास्त्री हिजैदेखि भेटघाटमा व्यस्त छन् । खुर्सिद नेपाल आएर कार्यक्रममा सहभागी भएर आजै फर्किने कार्यक्रम रहेको छ ।

खुर्सिद २०७० सालमा दोस्रो संविधानसभा चुनावको मिति तय हुँदा पनि नेपाल आएका थिए । नेपालमा संविधानसभाको निर्वाचनको मिति तोकिएका सन्दर्भमा चुनावी वातावरण तयार पार्न आएको भनेर त्यतिबेला उनको आलोचना भएको थियो ।

केही दिनपहिले चीनका तत्कालिन स्टेट काउन्सिलर याङ जेइजीको भ्रमण भएको थियो ।


ताजा खबर