रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणमा नेपाल आउने : सरकारले थाल्यो तयारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मन्त्री परिषद् श्रोतका अनुसार राष्ट्रपति पुटिनलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको छ । ‘राष्ट्रपति पुटिन नेपाल भ्रमणमा आउने भएपछि अहिले उपत्यका सडकको खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने र शहरलाई सिंगार्ने काम शुरु गरिएको हो’–मन्त्री परिषद् श्रोतले भन्यो ।

यसै मेसोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलंकी नागढुंगा सडकको अनुगमन गरेका थिए । सडकका खाल्डाखुल्डीका कारण सवारी आवतजावतमा असहज हुनुका साथै जाम हुने समस्या विद्यमान रहेको छ ।

नेपालमा छिट्टै विशिष्ठ विदेशी राष्ट्र र सरकार प्रमुखहरुको भ्रमण हुन लागेकोले मन्त्री नेम्वाङले काठमाडौँ सडक डिभिजन कार्यालयका इञ्जिनियरहरु र सडक बिस्तार आयोजनका प्रमुखहरुलाई खाल्डाखुल्डी पुर्न र कालोपत्रे गर्न निर्देशन दिएको बुझिएको छ । मन्त्री नेम्वाङले दैनिकजसो सडक कालोपत्रे गरिरहेको स्थानको अनुगमन गर्ने गरेका छन् ।

नेपाल सरकार मित्र राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्ध सुधार गर्न गम्भीर ढंगले लागिरहेको र सोही शिलशिलामा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गर्न लागिएको हो । केही समयभित्रै नेपालमा विश्वका उच्चस्तरीय व्यक्तिहरुको भ्रमण हुने मन्त्री परिषद् श्रोतले बतायो । एकमहिना अघि नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रुस भ्रमणका बेला राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट दिइएको निम्तो पुटिनले स्वीकार गरेको मन्त्री परिषद् श्रोत बताउँछ ।

रुस नेपालको त्यस्तो मित्र राष्ट्र हो जसले पूर्व पश्चिम महेन्द्र राजमार्गको डीपीआर निर्माणमा सघाएको थियो । पथलैया–ढल्केबर सडक खण्ड रुसी सरकारको अनुदान सहयोगमा निर्माण भएको हो । -रासस


ताजा खबर