आज येशुको जन्मोत्सव (क्रिसमस) : नेपाली इसाईहरूले देशभर हर्षोल्लासकासाथ मनाउँदै

येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले बताए ।  
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा  प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

– रासस


ताजा खबर