अस्पतालको वर्तमान चुनौती, समस्या पहिचान र न्यूनीकरणका उपाय : धुर्व प्रसाद सुबेदी

विगत केहि समयदेखि हाम्रो देशका अस्पतालहरुमा बिरामीको उपचार गर्ने क्रममा कहिलेकाहीँ बिरामीको मृत्यु हुनेको विषयलाई लिएर अस्पताल एवं स्वास्थ्यकर्मीमाथि लाञ्छना लगाउने, अस्पताल तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने सम्मका घटनाहरु हुँदै आएका छन् । जसले गर्दा अस्पताल एवं स्वास्थ्यकर्मीको मनोबल गिर्ने काम भएको र यसको न्यूनीकरणका लागि दोषीमाथि राज्यबाट उचित कारवाही गरिनुपर्नेका साथै अस्पताल एवं स्वास्थ्यकर्मीले पनि बिरामीको उपचारमा संवेदनशील भएर लाग्नुपर्ने अवस्था आएको छ ।

अस्पतालमा उपचार गराईरहेको बिरामीको मृत्यु भएपछि स्वाभाविक रूपमा निजका आफन्तहरु आक्रोशमा आउने भएकाले स्वास्थ्यकर्मीले समय समयमा बिरामीका आफन्तलाई काउन्सिलिङ गर्ने, बिच बिचमा बिरामीको अवस्थाबारे कारण सहित जानकारी दिने हो भने मृत्यु भएको खण्डमा पनि तोडफोड एवं दुर्व्यवहारको अवस्था नआउने अस्पताल प्रशासनको बुझाई भएपनि यस किसिमका घटनाहरुले निरन्तरता पाईरहनु दुखःद हो ।

नेपालमा हरेक क्षेत्रमा कानूनलाई हातमा लिने प्रवृत्ति बढ्दै गईरहेको छ । स्वास्थ्य क्षेत्र पनि यसबाट अछुतो छैन । बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्र्मीबाट जानी नजानी हुने मानविय त्रुटीका पक्षमा कारबाही गर्ने दह्रो कानूनी प्रक्रिया छैन । साविकको फितलो कानून पनि भिडबाट हातमा लिने प्रवृत्ति बढेकाले यस्तो अवस्था आएको हो । अहिलेसम्म स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सार्वजनिक अपराधको मुद्दा चलाइँदै आएको छ । यी र यस्तै घटनाहरुलाई लिएर राज्य ‘जेल विथ आउट बेल’ भनेर नियम बनाउने प्रक्रियामा छ । यो नियम लागू भएपछि आरोपितलाई हिरासतबाट धरौटीमा छुट्ने प्रावधान हट्ने सम्भावना छ ।

बिरामीले कुन अस्पताल, कुन स्वास्थ्यकर्मी कस्तो भन्ने नबुझी उपचारकालागि जाने गर्छन् । हामी नेपालीमा कुरै नबुझी बोल्ने बानी पनि छ । कुन अस्पतालमा कुन रोगको उपचार राम्रो छ भन्ने कुरा बिरामीले पहिला बुझ्नुपर्छ । यदाकदा नक्कली स्वास्थ्यकर्मीको कारण पनि बिरामीले विश्वास गरिहाल्ने अवस्था छैन ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा उपचारकै क्रममा अस्पताल र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार प्रदर्शन गर्नुले अस्पतालको छवी र स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक प्रभाव पर्ने गरेको छ । जसका कारण अस्पतालमा बिरामीले पाउने उपचार सेवाको गुणस्तरियतामा ह्रास आउँछ । यस्ता आपराधिक मानसिकता बोकेका व्यक्ति, समूह वा जोकोहीलाई जेल नै हाल्ने कानून लागू गर्न नेपाल चिकित्सक संघले समेत जोडदार माग गरेको छ । अस्पताल र स्वास्थ्यकर्मीमाथि यस्ता घटनाहरु भईरहनुले स्वास्थ्य संस्थामा गम्भीर असर पुग्ने गरेको साथै आर्थिक तथा सामाजिक रुपमा नकारात्मक असर पर्ने गरेको छ । नेपाल चिकित्सक संघको पछिल्लो तथ्याङ्कमा गतः १० वर्षको अवधिमा करिब २ सय जना भन्दा बढी स्वास्थ्यकर्मी माथि आक्रमण भएको उल्लेख छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६३ मा अस्पतालमा हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने उल्लेख छ । यस्तो कसुर गरेको भेटिए रु.पाँच हजार देखि रु.तीन लाखसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद हुने उल्लेख छ । तर ऐनमा उल्लेख भएको सजायँले अस्पताल एवं स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूको मनोबल नघटेका कारण यस किसिमका गतिविधि निरन्तर भईरहेकाले उनीहरूलाई धरौटीमा नछाडी जेलमै राख्नुपर्ने चिकित्सक संघ समेतको माग छ ।

अस्पताल भनेको संवेदनशील एवं शान्ती क्षेत्र हो । युद्ध भईरहेको अवस्थामा पनि अस्पताल निरन्तर रुपमा संचालन हुनुपर्ने विश्वव्यापी नियम छ । तर विडम्वना ! यसलाई प्रभावकारी रुपमा पालना गराउन राज्य संयन्त्रबाट सकिराखेको अवस्था छैन ।

अस्पतालमा उपचारकालागि भर्ना भएका बिरामीहरुको उपचार गर्नु अस्पालको प्रमूख दायित्व हो । अस्पतालमा निर्वाध रुपमा गुणस्तरिय उपचार सेवाको प्रत्याभुति गर्नु पनि हाम्रै दायित्व हो । हुल –हुज्जत र नाराबाजीका बिच स्वास्थ्यसेवा जस्तो संवेदनशील काम गर्न सम्भव छैन । यस किसिमका हुल हुज्जतमा अस्पताल एक्लै जस्तो पर्ने गरेको छ, यसमा राज्यको र नीति निर्माताहरुको अझै प्रभावकारी रुपमा ध्यान जान सकेको छैन ।

अस्पतालमा हरेक पटक नाराबाजी गर्ने, ढुंगामुढा गर्ने समूह प्रायः एउटै देखिने गरेको छ । यस्तो अवस्थामा जतिसक्दो छिटो जसरी भएपनि समझदारीमा गई अस्पतालमा उपचाररत अन्य बिरामीलाई सुरक्षित साथ उपचार सेवा उपलब्ध गराउन अस्पताल परिवार बाध्य हुन्छ ।

‘जन्मन र मर्न सबैभन्दा सही स्थान अस्पताल  हो ‘ भन्ने भनाई कटू सत्य हो । अस्पतालमा आउने बिरामीको सहि उपचार नगरी बिरामीलाई मार्ने उद्देश्य अस्पताल परिवारको पक्कै पनि हुँदैन भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । अस्पतालमा आएका बिरामीहरुको प्रभावकारी रुपमा सहि उपचार सेवा यथाशिघ्र उपलब्ध गराउनु अस्पतालको मुख्य दायित्व हो, र यो नै प्रमूख उद्देश्य हो ।

अन्त्यमा, अस्पतालमा हामीले लाखौं बिरामीको सेवा गरेका छौं । लाखौंलाई जिवन दिएका छौं । उपचारका क्रममा एकाध जटिल अवस्था भई हुने मृत्युमा हामी यसरी आक्रमणको तारो हुुनपर्ने नियती भईरहेको छ । यस्तो अवस्थामा अस्पताल एवं स्वास्थ्यकर्मीले कसरी बिरामीको प्रभावकारी रुपमा उपचार गर्ने ? अब राज्य तथा सम्बद्ध सबै पक्षले मनन् गरी यथाशिघ्र समस्या पहिचान गरेर प्रभावकारी रुपमा दिगो समाधानको उपाय निकाल्नु पर्ने भएको छ ।

( सुबेदी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का सि.एफ.ओ. हुन्। )


ताजा खबर