कर छुटको लाभ कसलाई ?

सिन्धुलीको तीनपाटन गाउँपालिकाले गत वर्ष उठाएका विभिन्न शिर्षकका कर यो वर्ष नलिने घोषणा गरेर अहिले चर्चामा रहेको छ । गाउँपालिकाको यो घोषणलाई मिडियाहरुले लोकप्रिय कामको रुपमा प्रचार–प्रसार गरिरहेका छन् भने सर्वसाधारणको बुझाई पनि ठूलो कर छुटको अफर आएको जसरी भईरहेको छ ।

तर तीनपाटनमा छुट दिईएको कर र त्यसले आम सर्वसाधारणमा पार्ने प्रभावको सुक्ष्म अध्यायन भने कसैले गरेको देखिदैन । सामाजिक सञ्जालहरुमा कर छुटको हर्षोउल्लास मनाउने र छुट सम्बन्धी समाचारहरु शेयर गर्ने धेरै सर्वसाधारणहरुलाई थाहा छैन । छुट भएका करले आफुलाई कति प्रभावित पार्छ वा कर बचत गर्दछ । अनि छुट दिईएको कर तिर्ने बर्ग कुन हो र त्यसको प्रत्यक्ष लाभ कसले लिदैछ ? गाउँपालिकाले गत वर्ष अशुल गरेका विभिन्न शिर्षकका करिव ५० लाख बरावरको कर यो बर्ष नउठाउने घोषणा गरेको छ । जसमा सबैभन्दा ठूलो हिस्सा ढुङ्गा गिट्टि बालुवाको रहेको छ । खपतका हिसावले ढुङ्गा गिट्टि बालुवा विभिन्न निर्माणमा संलग्न ठेकेदारहरुले बढि प्रयोग गर्ने बस्तु अन्र्तगत पर्दछ । सर्वसाधारणहरुले घर निर्माणका लागि पनि ढुङ्गा गिट्टि बालुवा प्रयोग गर्छन तर यो कर छुटको घोषणा एक टिप ढुङ्गा गिट्टि बालुवामा गत वर्षको मुल्यमा कुनैपनि कमि आएको छैन । यसको अर्थ यो करको सिदा लाभ ठेकेदारलाई पुगेको छ । सर्वसाधारणलाई होइन ।

कर छुटको अर्को ठूलो हिस्सा कृषि उत्पादनमा भनेर किशानको नाम जोडिएको छ । तर वास्तविकता के हो भने किशानले उत्पादन गरेको अलैचि र अदुवाको निकासी कर छुट भएको छ । अलैचि र अदुवा निकासी सिमित व्यापारीहरुले गरिरहेका छन् । किशान आफैले सदरमुकाम अथवा तेस्रो बजारमा लगेर अलैचि अदुवाको व्यापार गर्ने भए त्यसको छुट तीनपाटनका किशानहरुले पाउने थिए तर यो छुटको प्रत्यक्ष लाभ पनि सिमिति अदुवा अलैचि व्यापारीहरुको पोल्टामा पुगेको छ । नाम किशानको आएको छ । के कर बढि भएका कारण गत वर्ष अदुवा र अलैचि निकासी हुन नसकेको हो ? के करकै कारण किशानको बारीमा अदुवा कुहिएको हो ? होइन भने व्यापारीले तिर्ने करमा छुट दिनुको सोझो अर्थ के हुन सक्छ ?

केहि केहि मिडियाहरुले त तिनपाटन गाउँपालिका कर मुक्त गाउँपालिका बनेको भनेर समाचार लेखेका छन् । के सर्वसाधारणले एउटा सिफारिस लिन २०० रुपैया तिर्नुपर्ने अवस्थाको अन्त्य भएको हो ? घर नक्सा बनाउन कर तिर्नु पर्दैन ? तीनपाटन गाउँपालिकामा व्यावसाय गर्नेहरुले व्यवसाय कर तिर्नु पर्दैन ? मालपोत निःशुल्क भईसकेको हो ? पैतिस दिन कटेको जन्म मृत्यु लगायका घटना दर्ताको शुल्क पनि निशुल्क भइसकेको हो ? यि शुल्कहरु त कायमै रहेछन् । सर्वसाधारणसँग जोडिएका यि शुल्कहरु कायमै रहेर ठेकेदारले तिर्नुपर्ने ठूलो परिमाणमो ढुङ्गा गिट्टि बालुवाको कर र व्यापारीले तिर्ने अलैचि तथा अदुवाको निकासी कर छुट गरेर सर्वसाधारण र किशान कर मुक्त भएको भ्रम हुनु आफैले गलत होइन र ?

कर विकासको मुख्य आधार हो । कर नउठाएर कसरी विकास हुन्छ ? कर उठादिन भन्नुको अर्थ विकास पनि गर्दिन भन्ने हो । कर तिर्दिन भन्नुको अर्थ विकास चाहिदैन भन्ने हो । कर उठाउनेले विकास गर्छु भन्न सक्नु परो, कर तिर्नेले करको सदुपयोग गर्न खवरदारी गर्नु परो । कर तिर्नु नपरेकोमा खुशि हुने भन्दा बढि भोलि हाम्रो विकास रोकिने भयो भनेर दुःखी हुनु प¥यो । अनि कर छुट कस्को भयो र कस्को भएन तीनपाटनका स्थानीयले खोज्नु पर्यो ।

प्रस्तुतीः विनय दहाल – सफल नेपाल

ताजा खबर