बढ्दो डढेलोले काठमाडौंको वायु प्रदूषण चिन्ताजनक

देशका विभिन्न स्थानका जंगलमा डढेलो सल्कने क्रम बढेसँगै काठमाडौं उपत्यका सहित विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ।

वायुको गुणस्तरको तथ्यांक राख्ने एक्यूआईसीएनका अनुसार काठमाडौंका कैयौं स्थानमा आइतबार वायुको गुणस्तर अत्यन्तै अस्वस्थकर रहेको हो। वायुमा पार्टिकुलेट म्याटर (पीएम) २.५ भनिने आँखाले देख्न नसकिने धूलोको कण प्रतिघनमिटर २०० भन्दा माथि पुगेमा धेरै अस्वस्थकर वायु मानिन्छ।

आइतबार मध्याह्नपछि काठमाडौंका कैयौं स्थानका वायु प्रदूषण रेकर्ड गर्ने स्टेशनहरूले सोही स्थिति देखाएका छन्। मन्डिखाटारमा अपराह्न सर्वाधिक धेरै पीएम २.५ को मात्रा ३०० नाघेको छ। यो खतराजनक स्थिति हो। रत्नपार्कमा पनि वायु प्रदूषण निकै अस्वस्थकर पाइएको छ।

हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएको हावालाई स्वस्थकर मानिन्छ। ५० देखि १०० सम्मको स्थितिलाई सामान्य प्रदूषण मानिन्छ। पीएम २.५ को मात्रा प्रतिघनमिटर १०० देखि १५० सम्म भएमा बालबालिका, रोगी लगायत समूहका लागि अस्वस्थकर मानिन्छ। हावामा पीएम २.५ को मात्रा १५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर र २०० भन्दा बढी भएमा अत्यन्तै अस्वस्थकर मानिन्छ।

नेपाल संसारमै उच्च वायु प्रदूषण हुने देशमध्ये पर्छ। दुई साताअघि सार्वजनिक विश्व वायु गुणस्तर प्रतिवेदन, २०२३ ले संसारकै उच्च वायु प्रदूषण भएका मुलुकमध्ये नेपाल आठौं स्थानमा रहेको उल्लेख गरेको छ। गत वर्ष नेपाल १६औं स्थानमा थियो। यसले सन् २०२३ मा नेपालको वायु प्रदूषण थप खराब भएको देखाएको छ।

चैत २५ गते अपराह्न ५:३० बजे काठमाडौंका विभिन्न स्थानको पीएम २‍.५ को मात्रा।
स्वीजरल्यान्डस्थित आईक्यू एअर संस्थाले सन् २०२३ मा संसारका १३४ मुलुकको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने आँखाले नदेख्ने कणको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालेको हो। सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ।

सन् २०२२ मा नेपालमा सरदर पीएम २.५ को मात्रा ४०.१ माइक्रोग्राम प्रतिघनमिटर थियो। संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा १० गुणाभन्दा बढी प्रदूषित रहेको देखिएको छ। संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ४.१८ माइक्रोग्राम प्रतिघनमिटर छ।

विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोको कण (पीएम २.५)को मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ। यस अनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ। यस्तो प्रदूषित हावा स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ। सन् २०१९ को एउटा तथ्यांकले नेपालमा वायु प्रदूषण सम्बन्धी रोगका कारण बर्सेनि ४२ हजार जनाको ज्यान गइरहेको देखाएको थियो।

आईक्यू एअरका अनुसार ११४ राजधानीमध्ये काठमाडौं ११औं प्रदूषित राजधानी शहर हो।

हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा ओर्लिन्छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ। अझ नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति थप खराब हुन पुग्छ।

यस वर्ष गर्मी शुरू हुनु अगावै देशभरिका वनजंगलमा डढेलो सल्किन थालिसकेको छ। हिउँदमा पानी नपरेका कारण यस वर्ष वनजंगल सुक्खा भएर बसेका कारण डढेलो बढी लागेको हो। दुई साताअघि परेको पानीले निभाए पनि गर्मी चढेसँगै डढेलो फेरि बढ्न थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत तीन दिनमा नेपालका २०७ स्थानमा डढेलो लागेको छ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको नक्शाले भने पछिल्ला दिनमा देशका सयौं स्थानमा डढेलो र खुला आगो बालिएको देखाएको छ। पानी नपरेमा डढेलो अझै बढेर जाने अनुमान छ। वनजंगल सल्किएर निस्किएको धूवाँ वायुमा मिसिएपछि प्रदूषणको स्थिति चिन्ताजनक स्थितिमा पुग्छ। रासस


ताजा खबर