बालबालिकामा आनीबानी र जीवनशैलीका असहज लक्षण

डा. धर्मागत भट्टराई (डि.एम.)

बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन्। यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण देखिन सक्छन्। त्यस्ता केही समस्या क्षणिक हुन्छन् भने कुनैलाई विशेष सल्लाहको जरुरत पर्न सक्छ। तीमध्ये अधिकांश सामान्य समस्या हुने भए पनि यसले अभिभावकमा धेरै चिन्ता हुन सक्छ।

अखाद्य वस्तु खाने बानी
एक महिनाभन्दा बढी बारम्बार प्लास्टर, माटो, पेन्ट, चक, चारकोल जस्ता अखाद्य वस्तु खाने समस्या हो, पाइका। पाँच वर्षमुनिका बच्चामा देखिने यो अत्यन्तै देखिने यो समस्याको ठ्याक्कै रहस्य पत्ता नलागे पनि खनिज, आइरनको कमी, कुपोषण, निम्नवर्गीय परिवार, सुस्त मनस्थितिका वच्चा, अनि तनावमा वा पारिवारिक कलहबीच बढेको वच्चामा बढी पाइएको छ। यी आदतबाट रक्तअल्पता, विषालु ‘लेडु  खाइने सम्भावना, परजीवीको संक्रमण, दुर्घटना आदि हुन सक्छ। समाधानका लागि अभिभावकको साथ, काउन्सिलिङ र खनिज आइरनसहितको पौष्टिक आहार दिनुपर्ने हुन्छ।

खुवाउनै गाह्रो
यो समस्या अत्यधिक अभिभावकीय नियन्त्रणसँग सम्बन्धित छ।. बच्चा साविक खानाका लागि पनि धेरै नौटंकी गर्ने, नखाने, उपलब्ध नहुने खाद्यवस्तु माग गरी दुःख दिने र उपलब्ध भएपछि थुकिदिने आदि गर्न सक्छन्। यस्ता बच्चालाई प्रथमतः कुनै पौष्टिक कमी छ, छैन, जाँच्नुपर्छ। बच्चाका लागि जरुरी मात्रा र साविक वृद्धि अभिभावकलाई बुझाइनुपर्छ.। बच्चाका लागि खाद्य तालिका बनाउने, रमाइलो भान्सा/डायनिङ, जबर्जस्ती नखुवाउने, राम्रो खाएको दिन प्रशंसा गर्ने, धेरै गुलियो र चिल्ला खानामा नियन्त्रण गर्ने गरेमा यो समस्या बिस्तारै हल हुन्छ।

 

ट्वाइलेट ट्रेनिङमा कठिनाइ
कहिलेकाहीँ समयभन्दा पहिल्यै अभिभावकको आशाले त कहिले बच्चाकै बानीमा समस्याले भएका ट्वाइलेट ट्रेनिङका समस्याले कति समय बाबुआमालाई नै निराश बनाएको पाइन्छ.। वास्तवमा यी ट्रेनिङ दुई वर्ष उमेर पुगिसकेपछि सुरु गरिनुपर्छ, जब बच्चा सामान्य निर्देशन बुझ्न सक्ने हुन्छ र निर्देशन सौहार्द्र अनि दबाबरहित हुनुपर्छ। बच्चाको ट्वाइलेट सिटमा बसाल्ने तथा सन्तुलित अनि ठीकठीक अन्तरालमा खाना दिइनाले ट्रेनिङ कठिनाइ र कब्जियत दुवै ठीक हुन्छ।

नौटंकी
टेम्पर टेन्ट्रम त्यस्तो कु–वानी हो, जसमा बच्चाले भनेजस्तो नभएको खण्डमा ध्यानाकर्षण र मागपूर्तिका लागि चिच्याउने, टोक्ने, लडिबुडी खेल्ने, लाती मार्ने, वरपरका वस्तु फ्याँक्ने, टाउको ठोक्ने गर्छ। यस्तो अवस्था दुईदेखि पाँच वर्षको उमेरमा बढी देखिन्छ.। आफ्नो इच्छाबमोजिमको वातावरण नभएमा या उसका निम्ति कठिन कार्य दिइएमा यी समस्या उब्जन्छन् किनभने उनीहरु शब्दले हृदयका वेदना पोख्न सक्दैनन्।

यस्तो बानी साधारणतया ६ वर्ष उमेर पुगिसक्दा घट्छन्, जब बच्चा आफ्नो नौटंकी टेन्ट्रमको नकारात्मक पाटो बुझ्न पुग्छ, यी बच्चाका बाबुआमाले पहिले त बच्चाको कुनचाहिँ जिद्दीमा टेन्ट्रम देखिन्छ र साथमा के व्यहोरा देखाउँछ, त्यसको लिस्ट बनाउनुपर्छ, कुलत नबनाउने खालका र पूरा गर्न सकिने जिद्दीलाई भविष्यमा हुन नदिने तयारी गर्ने र जब नौटंकी गर्छ, तब अभिभावक शान्त, निष्पक्ष र दरिलो रहनुपर्छ.। कतिपय बेला उसको सोचाइ, अकै विषयवस्तुतिर आकर्षित गर्ने या सुरक्षित ठाउँमा एक्लै छोडिदिने गर्न सकिन्छ।

सास रोकी अत्तालिने
बच्चालाई हुने दुखाइ, अनिद्रा, फ्रस्ट्रेसन, रिसले पहिले लामो समय एक सासमा हुन्छ अनि पूर्ण प्रश्वासको विन्दुमा बच्चा अत्तालिन्छ, सास रोकिन्छ र नीलो पनि हुन सक्छ। कहिलेकाहीँ लुलिएर बेहोस भएको पनि पाउन सकिन्छ.। यो अत्तालिने समस्या सामान्यतः आफैँ सुल्झिन्छ र कहिलेकाहीँ सुल्झिएपछि निदाउने हुन सक्छ। ‘बे्रथ होल्डिङ’ ६ महिनाअघि कहिल्यै हुँदैन, दुई वर्ष उमेरका बच्चामा अत्यधिक देखिन्छ र पाँच वर्षपछिका बच्चामा देखिँदैन.। बे्रथ होल्डिङ नै हो कि हैन, बयानबाट थाहा पाउन सकिन्छ.तर यो बुझ्दा अरु लक्षण, छारेरोगबाट समस्याको सुरुवात भएनभएको, मुटुसम्बन्धी बिरामी भएनभएको तथा बिरामी दिमागी रोगबाट पहिल्यै पीडित भएनभएकोचाहिँ ख्याल गर्नुपर्छ।

बे्रथ होल्डिङ नै हो भन्ने निश्चित भएमा अभिभावकलाई यो सामान्य र आफैँ हराउने समस्या हो भनी सम्झाउनुपर्छ.। बच्चालाई काखमा नलिने, शान्त रहने, बच्चालाई उत्तानोबाट साइड गराएर त्यत्तिकै रहन दिने, अत्यधिक चासो नदेखाउने गर्नुपर्छ। बच्चालाई आइरन खनिजको कमी भएमा उपलब्ध गराउनुपर्छ।

अन्य कुलत
माथि उल्लिखित टड्कारा बानीका समस्याबाहेक बच्चामा थुप्रै कुलत देखिन्छन्। जस्तैः टाउको बजार्ने, औँला चुसिरहने, रौंँ बटार्ने, दाँत किट्ने, ओठ लेप्राउने आदि. बानी ६ महिनादेखि दुई वर्षका बच्चामा देखिन्छन् र यी आफैँ हराउने खालका हुन्। यी बानीले बच्चामा तनाव कम गरिररहेको हुन सक्छ.। जबर्जस्ती रोक्न खोजेमा सकारात्मक नतिजा नआउन पनि सक्छ. अलि ठूलो बच्चामा देखिने नङ टोक्ने बानी ‘नर्भस भएको प्रस्तुति’ हुन सक्छ. स्कुले छात्रछात्रामा देखिने यो बानी कीरा र जुकाको संक्रमणको कारण बन्न सक्छ। कोही बढेका बच्चामा टिक्स भनिने बारम्बार आँखा झिम्क्याउने, अनुहारको मांसपेशी अस्वाभाविक बटार्ने, काँध हल्लाउने, घाँटी सफा गरेझैँ गरिरहने आदि समस्या देखिन सक्छ। यसलाई अभिभावकको साथ र सामान्य आनीबानीको निगरानीबाट बदल्न सकिन्छ। पाँच वर्ष हाराहारीको बच्चामा औँला चुस्ने या आफ्नै औँलाले यौनांग चलाउनेजस्ता ‘ग्रेटिफिकेसन ह्याबिट’  देखिन सक्छन्.। यी समस्या पनि बानी बदल्ने बालविधिबाट ठीक पारिन्छन्।

अति चञ्चल तथा ध्यान नदिने
यो अलि फरक प्रकृतिको व्यवहारगत समस्या हो। यसबाट तीनदेखि पाँच प्रतिशत स्कुले विद्यार्थी पीडित पाइन्छन्। यसमा बच्चा अति नै चञ्चल, कन्ट्रोल गर्न गाह्रो र कुनै कुराप्रति ध्यानाकर्षण गराउन गाह्रो हुन्छ.। कामबाट सजिलै भ्रमित हुने, लापरबाही–गल्ती दोहो¥याउने, कक्षामा बसिरहन नसक्ने, भुल्ने, एउटा निर्देशन पूरा नसुन्ने, सजिलै कन्फ्युज्ड हुने, चौर, सिँढीमा ओहोरदोहोर गरिरहने, हातखुट्टा अत्यधिक चलाइरहने, अनवरत बोलिरहने, प्रश्न सुरु हुन नपाउँदै प्वाक्क गलत कमेन्ट बोलिहाल्ने, बोलिरहेकोे व्यक्तिको छलफल भाँडिदिने जस्ता लक्षण यसमा देखिन्छन्।
यो बिमारी अलि फरक प्रकृतिको भएकाले विशेषज्ञको सल्लाह लिई अभिभावकले बच्चाका लागि वास्तविक लक्ष्य निक्र्योल गरी बानीविध तथा औषधि सुरु गर्नुपर्ने हुन सक्छ। यसमध्ये, पूर्ण साथ दिने, ठोस निर्देशन पढाउने, सकारात्मक दबाब दिने, अवान्छनीय क्रियाकलापमा सुरक्षित स्थानमा एक्ल्याएर राख्ने, स्वास्थ्य दैनिक तालिका बनाई अनुसरण गराउने आदि केही विधि हुन्। यीबाहेक केही औषधि डाक्टरको सल्लाहपछि सेवन गराउनुपर्ने हुन सक्छ।

सिकाउन पनि गाह्रो
बच्चामा कुनै निर्दिष्ट विकासक्रमको गडबडीले सिक्ने पद्धति÷कलामा कमी आउन सक्छ.। यी गडबडी धेरैजसो अवस्थामा अनपेक्षित बच्चामा देखिने गर्छन्। जसमा कुनै पूर्व आघात थिएन,.न त यी साविक विकास हुन नसक्नुका प्रस्तुति नै हुन्। यीमध्ये कोड÷डिकोड, अक्षर चिन्ने, पहिल्याउने सीप कमी हुने डिस्लेक्सिया सबैभन्दा बढी देखिने बिमारी हो। यीबाहेक लेखेर प्रस्तुत गर्ने कठिनाइ (डिस्ग्राफिया), पढेर चुरो बुझ्ने कठिनाइ, गणितीय हिसाब बुझ्न कठिनाइ हुने आदि गडबडी पर्छन्। यी समस्याबाट ग्रसित बच्चालाई बढी समय दिएर एक ग्रुप शिक्षकद्वारा पढाइनुपर्छ। यिनीहरुको वाक्य÷लेख्य सचेतना बढाउन थुप्रै विधि प्रयोग गरिनुपर्ने हुन सक्छ। साथै चञ्चलता, अटिज्मका बिमारी छन्, छैनन् जँचाइनुपर्छ।

मर्यादा पालनामा समस्या
यसमा बच्चा क्रोधित भई उद्दण्ड बन्ने, चोरी गर्ने, पारिवारिक÷सामाजिक मर्यादा पालना नगर्ने समस्या देखिन्छ। यो केटामा ९ प्रतिशत र केटीमा २ प्रतिशत पाइएको छ.। यो बेलामा उसलाई सकारात्मक दबाबको विधि, ध्यान रुपान्तरण, सीप कलापट्टि आकर्षण बढाउने, क्रोधलाई बुझाइमा बदल्ने गरी सम्झाउने विधि अपनाउने गरिन्छ.। त्यसपछि मात्र औषधिको जरुरत सोच्नुपर्ने हुन सक्छ।

माथि उल्लिखितबाहेक कतिपय बच्चामा खतरनाक उदण्ड आपराधिक व्यवहार देखिन सक्छन्। जो अनाथ वा अभिभावकबाट वञ्चित बाल्यकालबाट गुज्रेका, बालश्रम, बाल यौनशोषणपीडित या घरबार भाँडिएका, परिवारबाट बाहिरिएका बच्चामा देखिन्छ। यी बाहेक केही किशोरावस्थाका खानपानसम्बन्धी मानसिक समस्या छन्। जस्तै: एनोरेक्सिया, वुलिमिया, एनोरेक्सियानभोर्सामा शारीरिक तौल अपेक्षितभन्दा ८५ प्रतिशतभन्दा कम हुँदाहुँदै पनि रजस्वला सुरु भइसकेका किशोरी, मोटापनको डरले गलत खानपान तालिका अपनाउन पुग्छन्।

कोही पटक्कै नखाने त कोही अत्यधिक खाने, लगत्तै उल्टी गरी फ्याँक्ने या दिसा पातलो गराउने औषधि सेवन गर्ने गर्छन्। यससँगै महिनावारी रोकिने, उदासी बढ्ने, अनौठा उदेकलाग्दा बानी अपनाउने आदि हुन सक्छन्। यो बिरामीमा विशेषज्ञद्वारा सम्झाउने, साइकोथेरापीका साथै डिप्रेसनका औषधिको जरुरत पर्न सक्छ.। यसैगरी वुलिमिया अत्यधिक खाने, अनौठो तालिकासित (जो साविकभन्दा अत्यधिक र अपाच्य छ) खाने, त्यसपछि शरीर बिग्रेला भनी थुप्रै औषधि सेवन गर्ने जस्ता समस्या देखिन्छन्। यिनीहरुलाई पनि ती विधि र औषधि जरुरत पर्दछन्।

समग्रमा बच्चादेखि किशोरकिशारीसम्म थुप्रै सामान्यदेखि जटिलसम्म व्यवहारगत तथा मानसिक समस्या देखिन सक्छन्। यी समस्याले अभिभावकमा तनाव त ल्याउँछ नै, बच्चाको भविष्यमा पनि प्रतिकूल असर पार्न सक्छ। तर माथि बयान गरिएजस्तै  ती लक्षणप्रति चनाखो भई सावधानी अपनाउने, जरुरत परेमा सल्लाह लिने गरेमा सानो प्रयासले यस्ता समस्याका तत्कालीन तथा दीर्घकालीन असरबाट बच्चा र किशोरकिशोरीलाई बचाउन सकिन्छ।

बालरोग प्रतिरक्षा तथा बाथरोगमा डि.एम. गर्नुभएका बरिष्ठ बालरोग विशेषज्ञ डा. भट्टराई काठमाडौं चावहिलस्थित ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर