गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार : अब्बास

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताउनुभएको छ ।

“अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,” अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ ।

अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेकोे’ र यसलाई अगाडि बढाउन नहुने बताउनुभएको थियो ।

इजरायलले भिटोको प्रशंसा गरेको छ, तर ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफुलाई ‘गम्भीर रूपमा निराश’ बनाएकोे बताएको छ ।

अब्बासले शनिबार भन्नुभयो, “अमेरिकी नीतिले गाजा, वेस्ट बैङ्क र जेरुसेलममा प्यालेस्टिनीविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।”

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौंदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपतकालीन बैठक बोलाउनुभएको थियो ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार २०० व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् । रोयटर्स


ताजा खबर