चितवनका किसानलाई मोबाइल एप्स मार्फत कृषि परामर्श

चितवनको कालिका नगरपालिकाका किसानहरू ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् ।

उनीहरूले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने थालेका हुन् ।

कालिका नगरपालिका–५ का दिपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउनुहुन्छ । उहाँले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थाल्नुभएको छ ।

“उत्पादित वस्तुको फोटो खिचेर ‘जिओ’ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ”, महतोले भन्नुभयो , “त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ ।” उहाँले बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्नुभएको छ । मूल्य पाउना साथ एपमार्फत बिक्री गर्दै आएको उहाँले बताउनु भयो ।

“मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा बिचौलियाले खान पाएका छैनन्, उहाँले भन्नुभयो , “बाख्रालाई समस्या पर्दा समेत मोबाइलबाट नै परामर्श लिने गरेको छु ।” विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नु पर्दथ्यो । आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उहाँको भनाई छ ।

पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिने गरेको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध तीन सय ५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधरीले बताउनुभयो ।

सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो । अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन् । उनीहरूले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन् । मौसम, बीउबिजन, मलखाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उहाँले बताउनुभयो ।

सहकारी संस्थामा डिजिटल टिभीसमेत जडान गरिएको छ । त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउनुहुन्छ ।

कालिका नगरपालिका–५ र २ का महिलाले कृषि एप प्रयोग गर्ने गरेका छन् । प्रविधितर्फ किसानको आकर्षण समेत बढ्दै गएको जिओ कृषिका कार्यक्रम अधिकृत प्रेम कुँवर बताउनुहुन्छ । उहाँका अनुसार १५ प्रतिशत महिलाले कृषि एपमार्फत सम्पूर्ण जानकारी लिने गरेका छन् भने संस्थाले एप चलाउनका लागि महिलालाई तालिम समेत दिँदै आएको छ । रासस


ताजा खबर