‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान आजदेखि

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । त्यस्तै, प्रचण्ड दिउँसो काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को भट्टेडाँडा पुगेर अभियान शुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

गएको साउन तेस्रो हप्ता काठमाण्डौमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश हरेक घरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने तयारी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

माओवादीका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जन भेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ ।

तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने माओवादीले जनाएको छ । रासस


ताजा खबर