बागमती क्रिकेट संघ अध्यक्षमा पारस खड्का विजयी

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।

ललितपुरको धोबिघाटस्थित एक होटेलमा शुक्रबार भएको प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको दोस्रो साधारणसभा तथा निर्वाचनले खड्कालाई अध्यक्षमा निर्वाचित गरेको हो । बागमती प्रदेशमा रहेको कुल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गरे । उनका निकट्तम प्रतिस्पर्धी उमेश पियाले १४ मत मात्र प्राप्त गरे ।

चितवन जिल्ला क्रिकेट संघका प्रतिनिध पियाले बागमतीको नेतृत्वमा दाबी गरेका थिए । बागमती प्रदेश क्रिकेट संघमा अब चार वर्ष खड्काले नेतृत्व गर्नेछन् ।

यस्तै उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित भए । उनका निकट्तम प्रतिस्पर्धी रुपक रञ्जितले १४ मत पाए । सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी प्रज्वल सापकोटाले १४ मतमा चित्त बुझाए । कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए । कोषाध्यक्षका अर्का प्रतिस्पर्धी विजय बोहोराले १४ मत प्राप्त गरे ।

महिला सदस्यमा नीरा राजोपाध्यायबाहेक अरु १२ जनाका लागि निर्वाचन भयो । अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३-२३ मत प्राप्त गरेर कार्यसमिति सदस्यमा निर्वाचित भए ।

कार्यसमिति सदस्यमा प्रतिस्पर्धा गरेका अनुजमान श्रेष्ठले १६ मत प्राप्त गरे । अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, सुरज सिलवाल, रामधन ढकाल र पारस अधिकारीले भने समान १४-१४ मत मात्रै पाए ।

काठमाडौंमा असोज ५ र ६ गते हुने भनिएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सकिएको छ ।

क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिव लड्ने योजनामा छन् । उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए । रासस


ताजा खबर