मालिकादेवी दर्शन : एउटा एडभेन्चर अनि एक अवसर

~प्रा.डा. गोविन्दराज भट्टराई

जाजरकोटको साहित्यिक कार्यक्रम सम्पन्न भएको भोलिपल्ट बिहान मालिकादेवीको दर्शनमा जान हिँड्यौँ ।

बिस्तारै नजानिँदो उकालो चढ्दै गयौँ । वरिपरि सालको जङ्गल छ । अरु मिश्रित वनस्पति छन् । उनीहरु गौरव गर्छन्— यहाँ त साल, सल्लो, काफल, ऐँसेलु र गुराँस एकै ठाउँमा हुन्छ । पहाडका वनस्पति चिन्नेहरू आश्चर्य प्रकट गर्छाैँ, ए हो रहेछ कस्तो अल्टिच्युटको जलवायु । जाजरकोटेहरू बेला बेला यस्तो वैचित्र्य हामीले सिर्जना गरेका हौँ अथवा हामीले नै यो ठाउँ रोजेर बसेका हौँ जस्तो भाव प्रकट गर्छन् । म पनि आश्चर्य प्रकट गर्दछु ।

बिस्तारो बिस्तारो उकालो चढ्दै छौँ । ढुङ्गाको माटाको गेग्रेनी भरिएको उकालो चढ्दै छौँ । बिहानको सूर्य पनि माथि माथि चढ्दै छ । यता दाहिनेतिर समानान्तर उभिए जस्तो कालो जङ्गल छ । मानिसले कहिल्यै नटेके जस्तो गरी उभिएका हरिया पाखा चढ्दै गएर पर्वत बनेका छन् । एक पछिल्तिर अर्काे देखिन्छ । फेरि अर्काे देखिन्छ ।

चढ्दै निकै माथि पुग्यौँ । मालिका मन्दिर छेलिएको छ । हिँड्दाहिँड्दै शरीर गर्माएर आयो । पसिनाले भिज्न थाल्यो अनि ज्याकेट खोलेर झुन्डाएँ । हिँड्दै गयौँ । यसो मनमनै विचार गर्छु, म गलेँ कि छैन अझै आफैँलाई प्रश्न गर्छु । अरुको सामु यहाँसम्म पुगेर असमर्थता देखाउनु अथवा फर्किनु पनि नराम्रो लाग्छ होला । गोविन्दसर चढ्न सक्नु भएन भन्ने हल्ला प्रेमसाथ चल्न थाल्छ होला । जाजरकोटेलीले पनि त्यो कुरा नबिर्सेलान् । यस्तो ठानी अघि बढ्दै गएँ, कठिनसँग चढ्दै गएँ ।

बाटो झन् ठाडो झन् ढुङ्गेनी आउन थाल्यो । अब ता मेरा गोडा थर्थराएको थाहा पाउन थालेँ । अरुलाई त्यस्तो भएको छैन र ? एकदुई जनालाई भइदिए हुन्थ्यो । थचकथचक बाटैमा बस्ने निर्णय देख्न पाए हुन्थ्यो । मुटु पनि ढुकढुक ढुकढुक हुन थाल्यो । पानी बोकेको छैन, यस्तोमा पानी पिउनु हुँदैन, मुटु फुटेर मरिन्छ भन्छन् । तर पनि त्यो भय नदेखाई पाइला उठाउँछु । उनीहरू भन्छन्— सर त भयङ्कर दरो हुनुहुँदो रहेछ । ताप्लेजुङको पानी खाएको पान्थरको पानी खाएको । म व्यर्थै मनमनै फुर्किए जस्तो हुन्छु र उक्लिँदै गर्छु । उनीहरूले सोधे— सर एउटा लौरो भए सजिलो हुन्थ्यो; म भन्छु— होइन पर्दैन, म ठिक छु तर खुट्टा लुलिएर आए र अब मालिका माताको दर्शन गर्न नसकिने जस्तो हुन थाल्यो । यो जाजरकोटमा एक पराजित साहित्यकारको इतिहास लेखियो भने— आजैको पत्रिकाले छाप्ने छ । तीन तीनवटा एफएम छन्— एउटाले फुक्ने छ । यसरी गोविन्द सर असमर्थ हुनुभो । लड्नुभो, बेहोस् हुनुभो त्यसपछि … आदि ।

अनेक बल गर्दा पनि नसकेपछि म उसै थचक्क भुइँमा बसेँ । निकै बेरपछि चालक तीर्थले एउटा सखुवाको लाथ्रो मर्काएर ल्याए र त्यसको सहाराले चल्न थालेँ । मलाई लाग्छ— सबै गलेका थिए । म धेरै गलेको थिएँ । अनगिन्ती वर्षहरू मैदानमा, गाडीमा, सुविधामा, काठमाडौँमा बसेको यी जीवन ६३ वर्ष पुग्ने समयमा यस्तो अक्कर चढ्ने मूर्खता कसरी आयो होला भन्ठानी आफैँलाई धिक्कारेँ । उँभो हेर्न मन छैन । फेरि दिलिप शाहले भने— अब ता जम्मा तीन मिनेट सर; ऊ तिहीँ हो पुगियो । तर उँभो हेर्दा केही देखिँदैन ।

मुटुको धड्कन बढेको छ, घुँडा लगलग छन् । म मूर्ख भएर व्यर्थै हौसेको छु, चढ्न बल गरेको छु, अरु १०–१५ को टुकडी छ साथमा; यसले मेरो गति निरीक्षण गर्दाे होला । त्यस बेला मैले सम्झेँ— अघि २०६६ सालमा यस्तो भएको थियो । चैत्रको गर्मीमा बैरागी काइँलाको पहाड घर पौवा–सारताप पुग्यौँ । रातभर साहित्य गोष्ठी गरेर भोलि दिउँसो उकालो चढ्दै थियौँ । एकदम ठाडो उकालो । स्वेटर माथि कोट छ, एउटा ब्याकप्याक छ । एक हुल स्रष्टा थिए चढ्दै चढ्दै डेढ घन्टा उकालो चढेपछि मलाई रिँगटा चल्न थाल्यो । म कतै अप्ठ्यारो ठाउँमा लड्छु कि भनेर सचेत हुनासाथ भित्ताको ढुङ्गा समातेँ । त्यसपछि आँखा अघिल्तिर रातो हरियो पहेँलो जस्तो देखेँ, होसियार हुने चेतना हरायो । बिस्तारै सननन हरियो नीलो रातो बत्ती बल्दा बल्दै कालो बलेपछि म झ्याप्पै भएँछु, त्यहीँ चौतारामा ढलेँछु । थाहा छैन भित्र एउटा धनु चले जस्तो लाग्छ । म होसमा छु कि बेहोसमा भन्ने ठहर गर्न नसकी पल्टिरहेछु, सुनिरहेछु, पानी छम्किने, पातले हम्किनेहरू बोले जस्तो सुन्छु— तर ठम्याउन केही सक्तिनँ ।

एक घन्टापछि झल्याँस्स जस्तो भएको सम्झिन्छु— आँखा अघिल्तिर राता पर्दा घुम्न थालेका देखेँ; हरिया पर्दा घुम्न थाले त्यो देखेँ, काला पर्दा घुम्न थाले अनि हेरेँ, अन्त्यमा आँखा अघिल्तिर सेतो उज्यालो जस्तो देखेँ । शरीर थर्थर भो । घुँडा दोब्रेलान् जस्तो भो । पेट बटारियो । अनि पर्तिरको तितेपाती घारीमा बसेर बमी गरेँ, दिसापिसाब उत्सर्जन गरेँ, कुल्ला गरेँ, सूची गरेँ, मुख धोएँ, दुई बोतल मिनरल सिध्याएँ । अनि त्यो शिखरकी देउराली माईलाई शिर निहुराएर ढोगेँ— धन्य माता मैले सारा दुःखहरू तिमीलाई चढाइसकेको थिएँ आज फेरि मलाई फिर्ता नै गर्‍यौ । म यसलाई लिएर कुदिरहौँला ।

बेलुका गाढी चढेर राँके पुग्यौँ । काँल्दाजु खुसी हुनुभो । पहाड नचढेका हामी, सुखदुखको जीवन रोजीरोटी भोग्दै सम्ममा साधनमा हिँड्नेहरूलाई यो एउटा शिक्षा होला । तर आज खलङ्गापारिको मालिकाको मन्दिर तल पनि त्यस्तै हुन्छ कि हुन्छ कि, म झ्याप्प हुन्छु कि क्या हो ! ठिक छ नि त यो मालिकाको भक्त घरदेखि ७०० किलोमिटर टाढा आएर उनैको चरणमा निधाउँछु भने के छ; जाजरकोटको नाममा म सहिद हुँला तर यो प्राण माया जस्तो होइन; आधी उनलाई दिएर आधी कसैलाई दिन पुग्ने । एक ठाउँ सुम्पेपछि फिर्ता नहुने । अझै नेपालका कति जिल्ला पुग्नु छ, अझै भारतका र परदेशका कति डाँडा काट्नु छ । क्षमा गर हे मालिका माते ! यो प्राण यो डाँडाबाट उम्केर त्यो खलङ्गा बजार फिर्ता हुन सकोस् ।

यस्तो प्रार्थना गर्दै ढुङ्गामा निकैबेर बिसाएँ; अनि जुरुक्क उठेँ, सखुवाको लाथ्रो टेकेर फेरि कस्सिएँ; एडमन्ड हिलारीले सरगमाथा टेक्ने बेलाका अन्तिम पाइला उचाले झैँ गरी माथि हेरेँ— दशै पाइला मात्र बाँकी थिए । ढुङ्गाका ठुला सिँढी टेक्तै माथि उक्लिएँ, फेरि उक्लिएँ, फेरि उक्लिएर अन्तिम पाइला हरियो चौरीमा राखेँ । सबै मलाई हेरिरहेका थिए । ठुलो विजय प्राप्त गरे झैँ भयो ।

धेरै बेर बिसाएर श्वासप्रश्वास टुङ्गामा आएपछि हेर्छु यस्तो उचाइमा पनि कसरी यस्तो सम्म चौरी । आर्मीको भैरवीदल गणका कटेज छन् वरिपरि; विश्रामालय छ, ठुला ठुला कामक्षा मन्दिरका भन्दा ठुला भिउसिने बोका घुमेका छन् । डाँडाको शिर नाङ्गो छ, त्यहीँ क्याम्प छ । त्यही एक छेउमा छिन् भगवती मालिका । गयौँ परिक्रमा गर्‍यौँ । हातमुख धोएर घण्ट बजायौँ । म भित्र पसेका बेला प्रोफेसर ग्रेगोरीले बिस रुपैयाँ दक्षिणा मन्दिरमा चढाइदिनू भन्दै मेरो हातमा बुझाए, मैले मन्दिरमा चढाइदिएँ । जाजरकोटकै संस्कृतिमा विद्यावारिधि गरेका यी अमेरिकी प्रोफेसरलाई थाहा छ— म्लेच्छहरू मालिकाको मन्दिरभित्र प्रवेश गर्न निषेधित छन् ।

एक घन्टा बिसायौँ । आर्मीले कुर्सी ओछ्याए र चिया विस्कुट तयार पारेर हाम्रो स्वागत गरे । तुलसी दाइ पुग्न सक्नुहुन्न जस्तो लागेको थियो तर निकैबेर पछि हैरान भएर पुग्नुभो । सुन्दरले साथ दिएका रहेछन् । तर तुलसी दाइको पनि बलियो अहम् छ, अझै तगडै छु, गर्न सक्छु केटा हो भन्ने छ । त्यसलाई बचाउन उहाँ मुस्किलले पुग्नु भो । तर त्यस्तो देखाउनु हुन्न ।

चियापान गर्दै त्यहीँबाट हेर्‍यौँ— चारैतिर स्वच्छ आकाशमुन्तिर यो टाकुरीमा घाम पनि धेरै तल झरे जस्तो लाग्छ । निकै तल खलङ्गा बजार ब्युँझेको एउटा नाके डाँडामा वारपार झलमल देखिन्छ । सेता राता घरहरू मन्दिर झुप्रा विद्यालयहरू । वरिपरि तीनैतिर ताछिएका जस्ता गाला; उँधोबाट उठेका जङ्गलले सुरक्षित छन् । एउटा भन्ङज्याङमाथि बसेको ससानो भूभागमा अडिएको खलङ्गा अलिक मुन्तिर नागबेली परेर बगिरहेकी भेरी बिहानको घाम टल्केर ऐना भएको छ, कति ठाउँमा कुहिरो जमेर पाल्पाको ह्वाइटलेक जस्तो लाग्छ । कस्तो विस्तृति छ परपर कहिल्यै नपुगिने ठाउँसम्म वर्तमानले वेष्ठित यो खलङ्गा यो जाजरकोटको मुख्य भाग । खलङ्गासँगै जोडिएको छ पुन्मा त्यससँग जोडिएको छ जगतीपुर । जहाँ राजा जगती मल्लले स्थापना गरेको राजपाट सुरु भएको थियो । हिजो विमोचित दुईवटा महत्त्वपूर्ण ग्रन्थले जाजरकोटलाई चिनाएका छन्— राजुराजा सिंहकृत जाररकोट परिचय (पृ. २६०) र मोमिलाद्वारा सम्पादित योगेश्वर कार्की सिर्जना र स्मृति (पृ. १८५) यी कृतिको अध्ययनले जाजरकोटलाई राम्ररी चिनाउने छ । यी दुई कृति यसपालि अमूल्य उपहार हुन् ।

मालिकाको समीपमा एकघन्टा व्यतीत गर्‍यौँ । सामरिक दृष्टिले महत्त्वपूर्ण यस डाँडामा एक सैन्य टुकडी थियो । क्याप्टन सापले हाम्रो स्वागत गरेका थिए । त्यसभन्दा तलको आर्मी ब्यारेक माओवादी लडाइँमा पनि सुरक्षित थियो । यद्यपि त्यहाँभन्दा धेरै माथि भन्ज्याङनिरको पाँचकटियामा धेरै हताहत भएको भयप्रद कथा अझै व्याप्त छ । कति कुरा वर्तमानका छन् कति कति इतिहासका र कति मिथहरू किंवदन्ती बनेर बसेका हुन्छन् । उनीहरूले सुनाए— त्यो तल देखिएको नागबेली परेर भेरी बगे ठाउँमा उठेको त्यो डाँडा हेर्नाेस्, त्यसको शिर नागको टाउको जस्तो छ । त्यहाँबाट पसेर भित्रभित्रै काठमाडौँको नागार्जुनसम्म पुग्ने मार्ग छ । यस्ता कुरामाथि विश्वास गर्ने आधार हुँदैन । तर सबैले भन्दा भन्दा हो जस्तै लाग्छ । यस्तै हो लोक विश्वास हुन्छ; मिथक बन्छ भन्ने कुराको आधार छैन तथापि जनविश्वासमा रूढि र परम्परा भै स्थापित छ । एकमनले मान्नुपर्छ ।

त्यसपछि ओरालो लाग्ने बेला आयो । साथीहरूको आग्रहमा आर्मीजनले तुलसी दिवस दाइलाई र मलाई एक एक लाठा उपहार गरे । तिनै टेक्तै हामी ओर्लियौँ । बिस्तारै होसियारले पाइला ठहर गर्दै जुत्ताका गोटी फिलिली चिप्लेर जाने हुन् कि, घुँडाले नथेगेर भ्वाक्कै पछारिने हौँ कि ! एकछिनदेखि अब गोडा काम्न थाले । थर्थर थर्थर । सेवा छोरीले जुम्ला जाँदाको अनुभव सुनाएकी थिइन्— बुबा चढ्नभन्दा ओर्लिन ज्यादा मुस्किल हुन्छ । मैले पूरै पत्याएको थिइनँ आज मात्रै नानीका वचन सम्झेँ— एक मन लाग्यो यसपालि ओर्लिँदा चाहिँ बाँकी रहिँदैन होला । थचक्कै बसेर स्ट्रेचर मगाउनुपर्छ होला । तर हार्न नमान्ने अहङ्कारले मलाई थला पर्न दिएन; सबैलाई जित्ने अहङ्कारले तुलसी दाइ हजार मिटर आगे पुग्नुभो । एउटा अनुभव, एउटा एडभेन्चर अनि एक अवसर ।


ताजा खबर