वसन्त ऋतुको सगरमाथा आरोहण शुरू : नौ जनाको टोली चुचुरोमा

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ। शनिबार मध्याह्न नौ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको छ।

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) को टोली ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) क्रममा सगरमाथाको चुचुरोमा पुगेको हो। टोलीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम पूरा गरेको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले बताए।

प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोहीलाई अब चुचुरोतर्फ जान बाटो खुलेको छ। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनले पाएको थियो।

डोरी टाँग्ने क्रममा आइसफल डाक्टरको टोली शनिबार दिउँसो १ः५२ बजे चुचुरोमा पुगेको हो। “सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे,” कम्पनीका कार्यकारी निर्देशक शेर्पाले भने।

अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले आइतबार बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने सक्ने उनको भनाइ छ। “इमेजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ। भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुचुरोमा पुग्नेछन्,” उनले भने।

आज दावा ग्याल्जे शेर्पाको नेतृत्वमा आइसफल डाक्टरको टोली सगरमाथामा पुगेको हो। अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत रहेका शेर्पा दोलखाको रोलवालिङका बासिन्दा हुन्।

रोप फिक्सिङ गर्दै सगरमाथाको चुचुरोमा पुगेको टोलीमा सोलुखुम्बुको थामेका निमानुरू शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा,  दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन्।

आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो खुलाइसकेका थिए। मौसम अनुकूल भइदिएको भए वैशाख २१ गते सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो। सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो। रासस


ताजा खबर